काठमाडौं महानगरपालिकाले लगायो प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

काठमाडौं महानगरपालिकाले लगायो प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएको छ।

सोमबार महानगरपालिका मेयर बालेन शाहको सचिवालयले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला लगाएको सचिवालय स्रोतले बतायो।

अधिकारीमाथि कार्यपालिकाले गरेको निर्णय हेरफेर गरी प्रमाणीकरण गरेको आरोप छ।

पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो। तर त्यसमा वरिष्ठ शाखा अधिकृत भगवती बिडारीले नियतवश आफ्नी छोरी सुप्रिया ढुंगेलको नाम उल्लेख गरी ६ जना बनाएको आरोप छ।

यसमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीको पनि संलग्नता भेटिएपछि सचिवालयले उनलाई छानबिन नसकुञ्जेल बिदामा बस्न भनेको थियो। तर छानबिन सकिनुअगावै अधिकारी आउने थाहा पाएपछि सचिवालयले ताला लगाएको सचिवालयको दाबी छ।

उक्त प्रवर्द्धन केन्द्र ‘द मान्डुस् फ्रान्स’ को आर्थिक सहयोगमा चलिरहेको थियो। सम्झौता अवधि सकिएपछि महानगरले सञ्चालन गर्ने भनेर कार्यपालिकाले निर्णय गरेको थियो।

मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले पनि प्रमुख प्रशासकीय अधिकृत अधिकारीको कोठा बन्द भएको बताए।

यस्तै, गत सोमबार नै महानगरले सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरेको थियो।

छानबिन प्रतिवेदनको सुझावअनुसार उनीहरूमाथि कारबाही गरिने महानगरले जनाएको छ।