हामीले सोचेजत्तिकै गरिब छ त युगान्डा ?

हामीले सोचेजत्तिकै गरिब छ त युगान्डा ?


काठमाडौँ ।

असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले युगान्डामा छन् ।

माघ ५ देखि ६ गतेसम्म युगान्डाको राजधानी कम्पालामा हुने शिखर सम्मेलनमा प्रधानमन्त्री दाहालले भाग लिने छन् । दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साललगायतका सरकारी वरिष्ठ अधिकारीहरू छन् ।

प्रधानमन्त्री प्रचण्डले ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलनको सत्रलाई माघ ५ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्रीले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्नेछन् ।

झट्ट सुन्दा र नेपालीहरुले चियागफमा गरिब देशहरुको सूचीमा युगान्डा जस्ता देशहरुलाई समावेश गरेको सुनिन्छ । नेपाली बोलीचालीमा र लबजले पनि युगान्डालाई हाम्रो नजरमा गरिब राष्ट्रको पहिचान दिएको छ । तर, के त्यो सत्य हो ? युगान्डा कस्तो देश हो र हरेक क्षेत्रबाट तुलना गर्दा नेपाल र युगान्डा कुन अवस्थामा छन् ?

युगान्डामा हुँदै गरेको असंलग्न आन्दोलन (नन–अलाइन्ड मुभमेन्ट)को १९औँ शिखर सम्मेलनको सेरोफेरोमा हाम्रा पाठकवर्गका लागि नेपाल र युगान्डाबीचको तुलना र केही रोचक जानकारी प्रस्तुत गर्ने जमर्को गरेका छाैँ ।

असंलग्न आन्दोलनको स्थापनाबाटै सुरु गरौँ । असंलग्न आन्दोलन सन् १९६१ को सेप्टेम्बर १ मा स्थापना भएको हो । यसको पहिलो बैठक युगोस्लाभियाको बेलग्रेडमा १९६१ को सेप्टेम्बर १ देखि ६ तारिखसम्म भएको थियो । नेपाल असंलग्न आन्दोलनको संस्थापक २५ राष्ट्रमध्येको एक संस्थापक सदस्य हो ।

रोचक कुरा के छ भने, अहिलेको १९औँ शिखर सम्मेलन आयोजना गर्ने देश युगान्डा, त्यससमय ब्रिटेनको अधिनमा थियो । ९ अक्टोबर १९६२ मा मात्र युगान्डा ब्रिटिस सम्राज्यबाट स्वतन्त्र भएको थियो । अर्थात् असंलग्न आन्दोलनको स्थापना भएको १ पछि युगान्डा स्वतन्त्र भएको थियो । युगान्डाले सन् १९६४ मा मात्र असंलग्न आन्दोलनको सदस्यता पाएको हो ।

सन् १९६१ मा असंलग्न आन्दोलनको पहिलो बेलग्रेड शिखर सम्मेलनलाई सम्बोधन गर्दै तत्कालिन राजा महेन्द्र

कुल ग्राहस्थ उत्पादनको हिसाबमा युगान्डा र नेपालको तुलना गर्ने हो भने अहिलेको अवस्थामा युगान्डा नेपालभन्दा माथी नै छ । सन् १९६४ सम्म नेपाल र युगान्डाको कुल ग्राहस्थ उत्पादनको अवस्था एउटै थियो । त्यस समय ५० करोड अमेरिकी डलरको युगान्डाको कुल ग्राहस्थ उत्पादन अहिले करिब ५० अर्ब अमेरिकी डलर पुगेको छ भने नेपाल युगान्डाको पछिपछि छ ।

जनसंख्याको कुरा गर्ने हो भने नेपालको जनसंख्या २ करोड ९१ लाख छ र युगान्डाको ५ करोडको हाराहारीमा । युगान्डाको तुलनामा नेपालको जनसंख्या कम भएकाले नेपालको प्रतिव्यक्ति आय धेरै देखिन्छ । युगान्डाको प्रतिव्यक्ति आय ९६४ अमेरिकी डलर छ भने नेपालको १ हजार ३३६ अमेरिकी डलर छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत स्थानहरु हेर्ने हो भने नेपाल युगान्डाको तुलनामा निकै धनि देखिन्छ । युगान्डामा २ प्राकृतिक र १ साँस्कृतिक विश्वसम्पदा छन् । नेपालमा यसको संख्या १० छ भने थप १४ स्थान सम्भावित सूचीमा छन् ।

युगान्डाभन्दा नेपालको इतिहास पुरानो र बलीयो देखिएपनि १२० राष्ट्र सम्मीलित असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलन आज युगान्डाले गर्दैछ र सन् २०२७ सम्मका लागि अध्यक्षता पनि लिएको छ । जम्मा ८ वटा देशको सहभागिता हुने सार्कसम्मेलन गर्दासमेत भद्रगोल व्यवस्थापन गर्ने हाम्रा नेतृत्वहरुले युगान्डाबाट विकासदेखि विदेश नीतिसम्मको ज्ञान लिएर फर्किउन् ।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै असंलग्न आन्दोलनको सबै शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ ।