राणाकालमा गाडी बोकाएर ल्याएको बाटोको हरिबिजोग

राणाकालमा गाडी बोकाएर ल्याएको बाटोको हरिबिजोग


काठमाडौँ ।

राज्य कती अन्धो हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो चित्लाङ–थानकोट सडक । नेपालको ऐतिहासिक सडक हो यो ।

तर, अहिले यो जिर्ण अवस्थामा छ । यसै सडक खण्डमा महिनैपिछे जसो हुने सवारी दुर्घटनामा धेरै सर्वसाधारणले ज्यान गुमाइरहेका छन् भने राज्य मौन छ ।

के विकास गर्नका लागी त्यो क्षेत्रमा केन्द्रिय तहकै नेता हुन पर्ने हो ? वा अर्थमन्त्रीकै क्षेत्र पर्नुपर्ने हो? वा प्रधानमन्त्री कै आदेश चाहिने हो ? नत्र काठमाडौँसँगै जोडिएको यो बाटोको हालत सँधै किन यस्तो ?

चित्लाङ–थानकोट सडकको ‘केश स्टडी’
आजभन्दा झन्डै १२७ वर्षअघि नै श्री ३ वीर शमशेर जबराले आफू चढने गाडी भिमफेदी– चित्लाङ हुँदै काठमाडौँ बोकाएर ल्याए । तर, अहिलेसम्म पनि गाडी बोकेर ल्याएको त्यो बाटोमा गाडी चल्न मुस्किल छ ।

पौराणिक पात्र पञ्च पाण्डव मध्यका माहिलो भाइ भिमसेन हिँडेको बाटो हो चित्लाङ–थानकोट सडक खण्ड । सम्राट अशोक हिँडेको बाटो ।

पृथ्वीनारायण शाहले काठमाडौँ आक्रमण गर्नुअघि चन्द्रागिरीमा गएर योजना बनाएको बाटो हो चित्लाङ–थानकोट सडक खण्ड । दामोदर पाण्डे काटिनुअघि पक्राउ परेको ठाउँको बाटो पनि यही नै हो ।यो सडक खण्ड हुँदै भारतबाट विरगंज, भिमफेदी, चित्लाङ हुँदै नेपालमा पहिलो पटक टेलिफोनको तार टाँगेर काठमाडौँसम्म ल्याइएको थियो ।

मान्छेले नै गाडी बोकेर ल्याएको बाटो हो यो ।राणा शासनको विरोध गरेबापत बिपि कोइरालालाई हत्कडी लगाएर हिँडाएको बाटो पनि यही हो ।
राणा शासनको विरोध गरेबापत नै गणेशमान सिंहलाई कोक्रोमा राखेर यही बाटो हुँदै ल्याएको थियो । राणा शासनको विरोध गरेबापत टंकप्रसाद आचार्य, रामहरि शर्मा आदिलाई चारपाटा मुडेर देश निकाला गर्दा हिँडाइएको बाटो पनि यही हो ।

राणा शासनको विरोध गर्दा काठमाडौँमा बस्न नसकी भारततर्फ भाग्दा पुष्पलाल यही बाटो प्रयोग गरेका थिए । लक्ष्मीप्रसाद देवकोटाले आफ्नो चर्चित कविता ‘यात्री’ यसै बाटौ हिँड्दै गर्दा नै रचेका थिए ।

२२ किमी सडक, ३०वर्ष(२०४८) देखि निरन्तर निर्माण कार्य भइरहेको, झन्डै ५५ करोडभन्दा बढी खर्च, तर अहिले पनि मुस्किलले सवारी साधन आवतजावत भइरहेको यो चित्लाङ थानकोट सडक एक ऐतिहासिक बाटो हो । यो बाटोसँग हाम्रो इतिहास, सँस्कृती, राजनीति, अर्थतन्त्रसमेत जाडीएको छ ।

२०११ सालमा त्रिभुवन राजपथ बन्नु अघि देशको राजधानी काठमाडौँलाई तराई अनि अन्य देशसँग जोड्ने एउटा मात्र विहल्प यही नै थियो । जुन बाटो पौराणिक कालमा पञ्च पाण्डवमध्येका भिमसेनसमेत तराई तिरबाट भिमफेदि–चित्लाङको बाटो हुँदै काठमाडौँ आएका थिए भन्ने पौराणिक कथन पनि पाइन्छ । उनी जुन ठाउँमा बास बसेका थिए त्यो ठाँउलाई भिमफेदी भनियो ।

सो ठाउँमा अहिले पनि उनको मन्दिर छ । त्यसैगरी उनको अर्को बास चित्लाङमा भएको थियो भन्ने कथन पनि भटिन्छ । त्यहाँ पनि उनको मन्दिर छ । सोही बाटो हुँदै काठमाडौँ आएको र काठमाडौँको टंकेस्वर नजिक विष्णुमती नदिको किनारमा बास बसेकाले अहिले पनि सो ठाँउलाई भिमसेनस्थान भनिन्छ । उक्त स्थानमा पनि उनको मन्दिर छ ।

त्यसैगरी परापूर्व कालमै सम्राट अशोक पनि बुद्ध धर्म प्रचार गर्न भारतबाट सोही बाटो हुँदै काठमाडौँ आएका थिए भन्ने किंवदन्ति पाइन्छ । उनले चित्लाङमा एउटा चैत्य बनाएका थिए जसको प्रमाण आजसम्म छ ।

नेपालको इतिहासमा भएका चर्चित काण्डहरू जस्तै, कोत पर्व, औलो पर्व, भण्डारखाल पर्वहरूपछि धेरै भाइ भारदारहरू यहि बाटो हुँदै भारत पलाएन भएका थिए भनिन्छ । नेपालका शाह वंशीय राजाहरू पृथ्वीनारायण, प्रताप सिंह , रणबहादुर, राजेन्द्र, शुरेन्द्र, पृथ्वी वीर विक्रम, त्रिभुवन, महेन्द्र, विरेन्द्र, ज्ञानेन्द्र, दिपेन्द्रहरु यहि बाटो पैदल हिँड्थे । त्यस्तै, नेपालका मुख्तियार अनि प्रधानमन्त्रीहरू दामोदर पाण्डे, भिमसेन थापा, रणजंग पान्डे, रंगनाथ पौडेल, पुष्कर शाह, फत्तेजंग शाह, माथबरसिंह थापा, जङ्गबहादुर, बम बहादुर, रणोद्दिप शिह, वीर शमशेर, देव शमशेर, चन्द्र शमशेर, भिम शमशेर, जुद्द शमशेर, पद्म शमशेर, मोहन शमशेर, मातृका, टंक प्रसाद, केआइ सिंह, विश्वजेश्वर, तुलसी गिरी, सुर्यबहादुर थापा, किर्तिनिधी, नागेन्द्रप्रसाद रिजाल, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहनलगायत नेलाहरू यसै बाटोमा पैदल हिँडेको कयौँ उदाहरण र इतिहास आज पनि पाइन्छ ।

सडकमा गुडाउने गाडी नै मान्छेले बोकेर ल्याएको बाटो पनि यही हो, जुन सायद संसारमा कहिँ पनि छैन होला । गणेशमान, पुष्पलाल, शुबर्ण शमशेर जस्ता हस्तीहरू हिँडेको बाटो, त्यसबखतका नेपालका राजा, महाराजा, रानी, महारानी, युवराज, राजकुमार, प्रधानमन्त्री, भाइ–भारदार, काजी–सरदारदेखि मन्त्रीसम्म सबै यहि बाटो पैदल सवारी, डोलि सवारी, हात्ती सवारी, घोड सवारी गरेर आफ्नो यात्रा तय गर्ने गर्थे । राज्यको उपल्लो तहमा रहेकाहरू पैदल हिँडेर ओहोर–दोहोर गर्ने गरेको यस्तो ऐतिहासिक बाटो नेपालमा सायद अन्य कुनै ठाउँमा छैन होला ।

तर, बिडम्बना यस्तो ऐतिहासिकता बोकेको बाटो आज राज्यको उपेक्षा बनेको छ । प्रत्येक चुनावमा त्यस भेगका नेताहरूको चुनावी नारा हुने गरेको यो बाटो कहिले जनताहरूको स्वतस्फूर्त जन श्रमदानबाट, कुनै समय स्थानीय विकास मन्त्रालय, कुनै बखत जिल्ला विकास समिती, कहिले उपभोक्ता समितीकन नाममा त कहिले पूर्वाधार मन्त्रालयअन्तर्गतको सडक विभागले जिम्मा लिएर निर्माण गरिरहेको छ ।

यो बाटो सम्पन्न गर्नका लागि भौतिक पूर्वाधार मन्त्रालयअन्तरगतको सडक विभागले ‘चित्लाङ–थानकोट सडक योजना’ गठन गरेर निर्माण कार्य अघि बढाए पनि अहिले सडक विभागले एकतर्फी रुपमा सो योजना खारेज गरेर सडक डिभिजन कार्यालय काठमाडौँको मातहत हुने गरी जिम्मा लगाएको छ । यसले गर्दा यो बाटो समयमा सम्पन्न हुन्छ भन्नेमा शंका उत्पन्न भएको छ । नेपालको राजनैतिक परिवेश हेर्ने हो भने जुन भेगको नेता शक्तिशाली छ, केन्द्रमा जसको पहुँच छ, त्यो ठाउँमा धेरै विकास भएको छ । यो बाटो समयमै सम्पन्न नहुनुमा यस भेगका नेताहरूको केन्द्रसम्म पहुँच नहुनु नै हो भन्नेमा कुनै शंका छैन ।

देशका गरिब जनताले गाँस काटेर तिरेको करबाट निर्माण भइरहेको बाटोमा राज्यले लगानी गरे पनि बालुवामा पानी हाले जस्तो भएको छ । ३०औँ वर्षदेखि लगातार निर्माण भइरहेको अनि करोडौँ रकम खर्च हुँदा पनि अहिलेसम्म यो बाटो अधुरो र अपुरो रहिरहनु लज्जा को विषय हो ।

(लामिछाने नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय सदस्य हुन्)