दाङमा सडकको भित्तामा बस ठोक्किँयाे, २ जनाको मृत्यु

दाङमा सडकको भित्तामा बस ठोक्किँयाे, २ जनाको मृत्यु


बर्दिया ।

बर्दियाबाट काठमाडौं जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार प्रहरी चौकीबाट चार किलोमिटर पश्चिमको जंगल क्षेत्रमा प्रदेश ३- ०१००५ ख ९७१९ नम्बरको रात्री बस आइतबार राति ११ बजे दुर्घटना भएको दाङका प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए।

दुर्घटनमा परी बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर १ का ३६ वर्षीय भीमनाथ योगी र मधुवन नगरपालिका वडा नम्बर २ का युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको डिएसपी मल्लले बताए।

उनकाअनुसार सडकको भित्तामा बस ठोक्किँदा दुई जनाको च्यापिए घटनास्थलमै मृत्यु भएको हो।

‘बस जंगल क्षेत्रको सडकको भित्तामा ठोक्किन पुगेपछि दुई जनाले ज्यान जोगाउन हाम फाल्न खोज्दा च्यापिएर घटनास्थलमै मृत्यु भएको जस्तो देखिएको छ,’ डिएसपी मल्लले भने।

चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ।

दुर्घटनामा चालक मधुवन नगरपालिका वडा नम्बर ४ का खुसीराम चौधरी घाइते छन्। साथै बस धनी गुलरिया नगरपालिका वडा नम्बर ४ का ४० वर्षीय दीपक विक पनि घाइते छन्। उनीहरूको नेपालगञ्जमा उपचार भइरहेको छ।

बसमा सवार अन्य यात्रु निदाएको तथा सबै सकुसल रहेको प्रहरीले बताएको छ।

मृतक दुबै जनाको पोष्टमर्टमका लागि दाङको लमही अस्पतालमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।