कञ्चनपुर ।
शुक्लाफाँटा नगरपालिका-१२ तिलकीस्थित वनहरा नदीमा गाउँका बासिन्दाले मिलेर अस्थायी काठको पुल निर्माण गरेका छन्। पुलमा दुईपाङ्ग्रे सवारीसाधन गुडाएबापत स्थानीय बासिन्दाले शुल्क लिने गरेका छन्।
मोटरसाइकल चालकबाट ४० र साइकलबाट १० रूपैयाँ शुल्क लिइने गरिएको छ भने पुल प्रयोग गरेबापत पैदल यात्रुबाट शुल्क लिने गरिएको छैन। गाउँका ९२ घरघुरीका सबै जनाले पालैपालो पुल छेउमा बसेर रसिद काटेर सवारी चालकबाट शुल्क लिने गरेका छन्। पुल प्रयोग गरेबापत आउने रकम भने स्थानीय बासिन्दाले आफूखुसी खर्च गर्ने र लैजाने गरेका छैनन्।
गाउँलेले मिलेर इटाहा सामुदायिक विपद् व्यवस्थापन समिति गठन गरेका छन्। त्यही समितिको कोषमा पुलमा लगाइएको शुल्कबाट आउने रकम जम्मा गरिँदै आएको छ। नदीमा अस्थायी पुल वर्षायाम सकिएसँगै कात्तिकदेखि राखिन्छ। असार सुरु हुनअगावै पुल नदीबाट हटाइने गरिन्छ। सोक्रम एक दशकअघिदेखि चल्दै आएको छ।
‘दुई वर्षअघि मात्रै नदीमा झोलुंगे पुल बनेको थियो’, विपद् व्यवस्थापन समितिका अध्यक्ष मंगलबहादुर चौधरीले भने, ‘बनेको एक वर्ष नपुग्दै नदीको बाढीले पुल बगाएपछि अस्थायी काठको पुल राख्न बाध्य भएका छौँ।’ उनका अनुसार पुल प्रयोग गरेबापत वर्षमा एक लाख रूपैयाँ हाराहारी रकम जम्मा हुने गरेको छ।
‘पुलमा शुल्क उठाउनका लागि दैनिक गाउँका चार परिवारलाई जिम्मा दिइन्छ’, अध्यक्ष चौधरीले भने, ‘पालोअनुसार परिवारका एक/एक जनाले पालो मिलाएर बिहानको झिसमिसेसँगै साँझसम्म खटिएबापत विपद् समितिले खाजा खर्च उपलब्ध गराउने गरेको छ।’
दिनभर उठाएको रकम कोषमा जम्मा गरिन्छ। कोषमा जम्मा भएको रकम गाउँका बासिन्दाको सल्लाह र समितिको निर्णयअनुसार सामाजिक क्षेत्रमा खर्च गरिन्छ। यस वर्ष कोषको केही रकमबाट बाँस खरिद गरी श्रमदानमा जैविक तटबन्ध मर्मतको काम गरिएको स्थानीय रामवती रानाले बताइन्।
‘आपत्-विपद पर्दा कोषकै रकम विनाब्याजमा पाउने गरेका छौँ’, उनले भनिन्, ‘स्वास्थ्योपचार, अत्यावश्यक घरायसी खर्चका लागि कोषबाट रकम पाइँदा मद्दत पुगेको छ।’ कोषमा रकम जम्मा हुँदा आवश्यकता पर्दा अरु कहाँ गुहार माग्नु नपरेको उनले बताइन्।
कोषकै रकमबाट बगर संरक्षण, सेफहाउस मर्मत, सार्वजनिक शौचालय निर्माणलगायत कार्य गरिएका छन्। गर्भवतीलाई सुत्केरी गराउन अस्पताल लैजानुपर्ने भए कोषबाट पाँच हजार रूपैयाँ तीन महिनासम्म बिनाब्याज उपलब्ध गराउने व्यवस्था गरिएको छ।
हालसम्म कोषबाट त्यसरी रकम लिने महिलाको सङ्ख्या ७० भन्दा बढी रहेको विपद् समितिका सदस्य लक्ष्मी चौधरीको भनाइ छ। उनका अनुसार वैदेशिक रोजगारीमा जाने गाउँका १९ युवालाई ५० हजार रूपैयाँका दरले कोषबाटै रकम उपलब्ध गराइएको छ। ‘कोषबाट वैदेशिक रोजगारीमा जाने युवाबाट तीन महिनासम्म ब्याज लिदैनौँ’, उनले भनिन्, ‘तीन महिनाभित्र रकम कोषमा जम्मा नगरे १८ प्रतिशतका दरले ब्याज लिने नियम बनाइएको छ।’
नदीको धार परिवर्तन गर्न ६६ हजार रूपैयाँ र जैविक तटबन्ध निर्माण गर्न एक लाख ७५ हजार रूपैयाँजति खर्च भएको विपद् समितिका पदाधिकारीको भनाइ छ। समितिको खातामा अझै चार लाख रूपैयाँजति रकम जम्मा रहेको छ। तिलकी गाउँको उत्तर र दक्षिणतर्फ गरी दुईतिर वनहरा र दोदा नदीले घेरिएको छ। दुवै नदीले वर्षात्काबेला निकै जमिन कटान गर्ने र बाढीको पानीको बहाव उच्च भएकाबेला नदी बस्तीमा छिर्ने गरेको छ।
बाढीजन्य विपदबाट जोगिनकै लागि स्थानीय बासिन्दाले विपद् समिति गठन गरेका हुन्। विपद् समितिले खडा गरेको कोषको रकम बाढीजन्य प्रकोपमा परेकालाई मात्रै नभएर अन्य सामाजिक क्षेत्रमा खर्च हुन थालेपछि यस क्षेत्रका बासिन्दाले निकै सहजता महसुस गरेका छन्। नदीमा स्थायी पुल निर्माणका लागि माग गरेर स्थानीय बासिन्दाले गएको चुनावकाबेला उम्मेवारलाई बस्ती छिर्नमा रोक लगाएका थिए।
उम्मेदवारले पुल बनाउने प्रतिबद्धता गरेपछि मात्रै बस्तीमा चुनाव प्रचारप्रसारको काम गर्न दिएका थिए। चुनाव जितेर गएकाले पुल निर्माणको काम एक महिनाभित्रै सञ्चालन गर्ने प्रतिबद्धता गरे पनि हालसम्म बन्न नसकेकोप्रति स्थानीय बासिन्दाले असन्तुष्टि पोखेका छन्।
प्रतिक्रिया