एमालेको शक्ति क्षयीकरण : पहिलोबाट एकैपटक तेस्रो, सकियो ‘बार्गेनिङ पावर’

एमालेको शक्ति क्षयीकरण : पहिलोबाट एकैपटक तेस्रो, सकियो ‘बार्गेनिङ पावर’


काठमाडौँ ।

राष्ट्रियसभाको १९ सिटका लागि बिहीबार भएको निर्वाचनमा नेपाली कांग्रेसका १०, माओवादी केन्द्रका ५, नेकपा एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका १ र नेकपा एमालेका १ जना निर्वाचित भए ।

फागुन २० मा कार्यकाल सकिने १९ सिटका लागि निर्वाचन भएकामा एमालेले गुमाउने ८ मध्ये १ सिट मात्र एमालेले सुरक्षित गर्न सक्यो ।

२० फागुनमा एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, नेकपा एसका २, जसपाका १, राष्ट्रपतिबाट मनोनीत १ र १ जना स्वतन्त्र सदस्यको कार्यकाल सकिँदै छ ।

निर्वाचनसँगै अब राष्ट्रियसभामा सबै दलको उपस्थितिको हिसाब–किताब पनि टुंगो लागेको छ । २० फागुनपछि राष्ट्रियसभामा माओवादी पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो दलका रूपमा प्रस्तुत हुनेछन् ।

कांग्रेसको आडमा माओवादी बलियो

एमाले निरन्तर ओरालो यात्रामा देखियो भने कांग्रेस र माओवादी केन्द्रले थप शक्ति सञ्चय गरेका छन् । राष्ट्रियसभामा १७ सिटसहित ठुलो पार्टीका रूपमा रहेको एमालेले ८ सिट गुमाउँदै पहिलोबाट एकैपटक तेस्रो स्थानमा झरेको छ । उता, २ सिट थप गर्दै १७ सिटसहित मााओवादी पहिलो र ६ सिट थपेको कांग्रेस तेस्रो स्थानबाट दोस्रो स्थानमा उक्लिएको छ ।

अब २० फागुनपछि राष्ट्रियसभामा माओवादीका १७, कांग्रेसका १६, एमालेका १०, नेकपा एसका ८, जसपाका ३, लोसपाका १ र जनमार्चाका १ तथा राष्ट्रपतिबाट मनोनीत ३ जनाको उपस्थिति रहनेछ ।

राष्ट्रियसभाका २०७४ सालपछि निरन्तर ठुलो दलका रूपमा रहँदै आएको एमाले फागुन २० पछि एकैपटक तेस्रो स्थानमा रहनेछ । २०७४ सालमा २७ जना राष्ट्रियसभा सदस्य रहेको एमाले पहिलो र १३ सिटसहित दोस्रोमा कांग्रेस र १२ सिटसहित माओवादी केन्द्र तेस्रो स्थानमा थियो ।

२०७५ सालमा भएको एमाले–माओवादी एकताले एमालेलाई झनै फाइदा पुर्‍याएको थियो । तत्कालीन नेकपाको पोल्टामा त्यस बखत ४७ सदस्य थिए । तर, २०७८ सालमा नेकपाको फुटसँगै एमाले दुब्लाउँदै गयो भने माओवादी मोटाउँदै गायो । नेकपा फुट्दा एमालेसँग ३१ र माओवादीसँग १५ सदस्य थिए ।

२०७८ सालमै एमाले फुटेर नेकपा एकीकृत समाजवादी गठन भयो । यसको प्रत्यक्ष असर एमालेको राष्ट्रियसभाको उपस्थितिमा पर्‍यो । एमालेसँग भएका ३१ मध्ये ८ जना नेकपा एसमा लागे ।

२०७८ सालमै एमालेकै तर्फबाट सांसद बनेका ८ जनाको कार्यकाल सकियो । निर्वाचनमा एमालेले ७ सिट गुमायो । त्यसयता एमाले १७ सिटमा सीमित थियो । अहिलेको निर्वाचनबाट एमालेले थप ७ सिट गुमाएको छ र ६ वर्षदेखि पहिलो दलका रूपमा रहेको एमाले १० सिटसहित तेस्रो स्थानमा झरेको छ ।

एमालेले निरन्तर सिट गुमाइरहँदा यसको प्रत्यक्ष फाइदा भने माओवादीले पाइरहेको छ । १२ सिटबाट सुरु गरेको राष्ट्रियसभाको यात्रामा माओवादीले १५ हुँदै १७ सिटको यात्रा तय गरेको छ ।

माओवादीको सफलतामा कतै न कतै कांग्रेसको महत्वपूर्ण साथ देखिन्छ । कांग्रेससँगको गठबन्धनले माओवादीलाई आफ्नो उपस्थिति बलियो बनाउन सहयोग पुर्‍याएको छ ।

संवैधानिक परिषद्‍‍मा कमजोर एमाले

सत्ता शक्तिमा सत्ता गठबन्धन झनै बलियो हुँदै गएको छ भने एमाले ओरालो यात्रामा । अझ फागुन २० मा राष्ट्रियसभा अध्यक्षका रूपमा रहेका एमालेकै गणेशप्रसाद तिमिल्सिनाको पनि बहिर्गमन हुने भएकाले एमाले झनै कमजोर हुनेछ । आन्तरिक सम्झौताअनुसार कांग्रेसका कृष्णप्रसाद सिटौला २० फागुनपछि राष्ट्रियसभा अध्यक्ष बन्नेछन् ।

यसले संवैधानिक परिषद्‍मा पनि एमालेलाई कमजोर बनाउनेछ । प्रधानन्यायाधीश बाहेक ५ सदस्यीय परिषद्‍मा अहिले एमाले ३ सदस्यका साथ बलियो थियो । अब २० फागुनपछि प्रतिनिधिसभाका सभामुख र प्रतिनिधिसभाको विपक्षी दलको नेता मात्र एमालेको तर्फबाट परिषद्मा हुनेछन् । योसँगै संवैधानिक नियुक्तिका विषयमा गठबन्धनको निर्णयमा एमालेले रोक लगाउने सम्भावना कमजार बनेको छ । अब संवैधानिक परिषद्‍मा बहुमत देखाउँदै माेलमलाइ गर्ने एमालेकाे बार्गेनिङ पावर पनि क्षिण बन्दै गएकाे छ ।

संवैधानिक परिषद्मा अहिले एमालेका तर्फबाट संसद्का दुवै सदनका अध्यक्ष तथा प्रतिनिधिसभाको विपक्षी दलको नेताका रूपमा केपी शर्मा ओली सदस्य छन् । त्यस्तै, अध्यक्षका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभाकी उपसभामुख सदस्य छन् । स्वतन्त्र न्यायालयका प्रधानन्यायाधीश पनि परिषद्को सदस्य छन् ।

राजनीतिक रूपमा हुने भागबन्डा अर्थात् विभिन्न संवैधानिक निकायको प्रमुख र पदाधिकारीको नियुक्तिका लागि संवैधानिक परिषद्ले नै सिफारिस गर्ने भएकाले परिषद्‍मा कमजोर उपस्थिति भएका दलले त्यसबाट लाभ लिन सक्दैनन् । अब एमाले पनि उक्त लाभबाट प्रत्यक्ष रूपमा रोकिने छ ।

राष्ट्रियसभा सदस्यमा को–को भए निर्वाचित ?

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका १८ र एमालेका १ जना उम्मेदवार विजयी भएका छन् । कोसी प्रदेशमा गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौला र एमालेकी रुक्मिणी कोइराला विजयी भए । त्यस्तै, मधेस प्रदेशमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी विजयी भए ।

४ सिटका लागि बाग्मती प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका तर्फबाट कांग्रेसका जितजंग बस्नेत र विष्णुदेवी पुडासैनी, माओवादीका श्रीकृष्ण अधिकारी र नेकपा एसका घनश्याम रिजाल विजयी भए ।

उता, गण्डकी प्रदेशमा गठबन्धनका ३ उम्मेदवार विजयी भए । जसमा कांग्रेसका किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार तथा माओवादीकी मनरूपा शर्मा निर्वाचित भए ।

त्यस्तै, लुम्बिनी प्रदेशमा गठबन्धनका दुवै उम्मेदवार विजयी भए । कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादीका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन् । कर्णाली प्रदेशमा गठबन्धनका ३ जना उम्मेदवार विजयी भए । यहाँ एकीकृत समाजवादीकी सावित्री मल्ल, कांग्रेसका कृष्णबहादुर रोकाया र माओवादीका विष्णु विक निर्वाचित भए ।

३ सिटका लागि निर्वाचन भएको सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धनका तीनै उम्मेदवार विजयी भए । कांग्रेसका नारायणदत्त भट्ट र बलदेव बोहरा तथा माओवादीकी रेणु चन्द विजयी भएका हुन् ।