चिया पारखीका लागि ‘बिसाैनी’ बन्दै बर्दिवास

चिया पारखीका लागि ‘बिसाैनी’ बन्दै बर्दिवास


महाेत्तरी ।

चियाको उत्पत्तिका विषयमा अनेकौ किंवदन्ती छन् । भनिन्छ ५ हजार वर्षअघि चीनका एक सम्राट सेन नुङ जोले  एक दिन जंगलमा उनका सहयोगीहरूले पिउने पानी उमालिरहँदा नजिकैको रूखबाट केही पात पानीमा हाले । त्यसरी उमालिएको पानी पिउँदा निकै मिठाे स्वाद आयो । कालान्तरमा गएर त्यही नै चिया बन्न पुग्यो ।

त्यससँगै विकसित भएको चियाको अम्मल विश्वभर नै फैलियो । बिस्तारै यसका रुपरङहरू मात्र फेरिएनन्,  मानिसहरूले व्यापारका रूपमा पैसा आर्जन गर्ने माध्यमसमेत बनाए  । पेय पदार्थका रूपमा विश्वभर लोकप्रिय बन्दै गएपछि कप अफ टी, टी विथ मुसोलिनी, टि एन्ड बिस्केट, द टेस्ट अफ टी, द टाइगर हु केम टु टीलगायत सयौँ चलचित्रसमेत निर्माण भइसकेका छन् ।

नेपालमा पनि राजा, माहाराजा अर्थात् सम्भ्रान्त वर्गले उठ्नेबित्तिकै बिहान  शोखका लागि पिउने चिया अहिले देशैभरका गल्ली, दोबाटो, राजमार्ग र होटलहरूमा कराेडौँ  संख्यामा विस्तार भएका छन् ।

चिया पारखीहरूले स्वादिष्ट चिया पाउने ठाउँका रूपमा देशैभरका कतिपय सहरहरूलाई श्रेणीगत रूपमा विभाजन गरेका छन् ।  यस्तै चिया चर्चाका रूपमा आधा शतकदेखि विकास हुँदै आएको  बर्दिवास सहरको चर्चा अहिले पनि उत्तिकै छ ।

५० वर्षदेखि चियाको वरिपरि घुमिरहने स्थानीय व्यापारीका कारण मात्र हाेइन, नया पुस्ताको चियाकै आधुनिकीकरणका कारण बर्दिवासको उचाइलाई चियाले नै मलजल गरिरहेको छ । केही तन्नेरी पुस्ताका चिया पसल र चियालाई बर्दिवास र बर्दिवासलाई चियाका रूपमा चिनाएका पुराना चिया पसलका बारेमा के चर्चा।

 

कित्ली चिया घर

चियाको लोकप्रियतालाई ध्यानमा राखी तन्नेरी पुस्ताले अवलम्बन गरेको चिया घर हो- कित्ली चिया । बर्दिवास बजारको मुख्य राजमार्गबाट झन्डै सय मिटर भित्र पसेपछि कित्ली चिया घर पुगिन्छ । भुइँ घरलाई डेकोरेसन गरेर बनाइएको चिया घरमा पुगेपछि बोर्डमा लेखिएको छ – ‘मन खोल्छ चियाले…’

चियाको स्वादमा झुम्मिने पारखीहरूलाई यो लेखेको देखेपछि अलि कौतुहल लाग्छ । अचम्मलाग्दो त कहाँनिर छ भने पारखीहरूले कालो वा सेतो, चिनी भएको वा नभएको भनेर अर्डर गर्नुपर्दैन । लामो मेनुले कुनचाहिँ चिया पिउने भन्नेमा बरु अलमल बनाउँछ ।

कर्मचारीहरू आएर प्रत्येक मेनुको वर्णन गरेपछि बल्ल कुन चिया पिउने भन्नेमा पारखीले निर्णय गर्छन् ।

मेनुमा २३ प्रकारका चियाको लामो सूची  बनाइएको छ । २० रुपैयाँदेखि सुरु हुने यो कित्ली घरमा २५० रुपैयाँसम्मको चिया पाइन्छ । २५० मा पाइने चियालाई पान घोत्ला चिया भनिन्छ । हो यही चियाले बर्दिवासलाई नया चिनारी दिएको छ ।

पान घोत्ला चियापछि अर्को परिचित चियाको नाम हो कान्छी चिया । कान्छी चियाको आफ्नै कथा छ । सुत्केरी महिला, स्वास्थ्यका दृष्टिकोणले कमजोर जोकोहीले पाैष्टिक तत्वका रूपमा यसलाई खुवाउन सकिने  कित्ली घरकी सञ्चालक जुनु सुनार बताउँछिन् । यसमा विभिन्न मसला मिश्रण गरिएको हुन्छ ।

‘बर्दिवास चियाका लागि त्यत्तिकै फेमस छ, यसलाई थोरै हामीले नयाँपन दिने कोसिस गरेका छौँ,’ सुनारले भनिन्, ‘व्यावसायिक रूपमा समयअनुसार परिमार्जन गर्न आवश्यक छ, हामीले नयाँ ट्रेन्डको आवश्यकतालाई बुझ्यौँ, त्यतिमात्र हो ।’

 

शर्मा चिया पसल

चियाको लामो इतिहास बोकेको बर्दिवासको अर्को चिया पसल हो- शर्मा चिया पसल ।  चिया पसल खोल्दा यसका सञ्चालक जयनारायण शर्मा तन्नेरी थिए ।

जतिबेला बर्दिवासमा बजार नै थिएन, जनसंख्या निकै कम थियो । मानिसहरू ओहोरदोहोर गर्ने तत्कालीन बर्दिवास चौबाटो नभए पनि शर्माले बनाउने चियामा झुम्मिने र मजा लिनेकाे भिड त्यतिबेला पनि हुन्थ्यो ।

जयनारायण शर्माले चिया पसल खोले । तर कित्ली चियाको जस्तो अनेकौँ प्रकार पनि थिएनन् । तर शर्मा चियाको स्वाद सर्वत्र फैलियो । यतिमात्र हैन, यहाँ गिरिजाप्रसाद कोइरालादेखि देशका शीर्ष नेताहरूले समेत आउजाउ गर्दा शर्मा चिया पसललाई केन्द्र बनाउन थाले ।

अहिलेसम्म पनि जयनारायण शर्मा सोही चिया पसललाई निरन्तरता दिदैँ आएका छन् । चियाको कुशल व्यवस्थापनका कारण अभ्यस्त बनेका शर्मा अहिले सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् ।

 

थापा चिया पसल

अहिले चिया बनाउँदा  थापाको हात थरथर काँप्छ । बुढ्यौलीले त्यति हिँडडुल  गर्दैनन् । तर चियाको मिठो चुस्की लिँदै चिया चौतारी बनाएका व्यक्तिहरूको भिडभाड भने दिनभर नै रहन्छ ।

बर्दिवासका अन्यत्र ठाउँहरूमा चिया पिउनेहरू भन्छन्- ‘जाउँ एक कप थापा चियामा गएर पिऊँ अनि छुट्टिउँला।’

कित्ली घरको जस्तो थापा धेरै किसिमका चिया बनाउन जान्दैनन् । तर चियाको उत्कृष्ट स्वादले थापाको चिया पसलले बर्दिवासलाई ४ दशकदेखि जीवन्त बनाउँदै आएको छ।

चिया पिउन आएकाहरू भन्छन्- ‘थापाको चिया पसलमा चिया पिएर नै हामी हुर्केका हौँ ।’

थापाका जेठा छोराले बर्दिवासमा नै चिया पसल सञ्चालन गरेका छन् । बुबाको विरासत थामेका हिमालकाे चिया पसलमा पनि बिहान, बेलुका चुस्की लिनेहरूको भिड नै हुने गर्छ । अझ उनकाे चिया पसल बर्दिवास नगरपालिकाभरका प्रधानध्यापकहरूको योजना बनाउने शैक्षिक चौतारी बनेको छ । त्यसैले उनकाे चिया पसललाई शिक्षक चोक भन्न थालिएको छ ।

 

बस्नेत चिया पसल

बस्नेत चिया पसल पनि बर्दिवासमा लामो इतिहास बोकेको चिया पसल हो । हुन त  चियाकै विषयमा विश्वमा हजारौँ पुस्तकहरू लेखिएका छन् ।नेपालका साहित्यकारहरूले विभिन्न कृतिहरू चियाकै परिवेशमा रचना गरेका छन् ।

विद्यालयका पाठ्यपुस्तकहरूमा पनि यसबारे विभिन्न प्रकारका कथाहरू समेत समावेश गरिएको छ । तर, चियामा नै जीवन बिताएका र चियाको संस्कार स्थापित गरेका बस्नेत जस्ता धेरै जना गल्ली र गल्छौँडाहरूमा हराइरहेका छन्  ।

बस्नेत चिया पसल पनि बर्दिवासमा लामो विरासत बोकेको चिया पसल हो । यसका सञ्चालक तेजबहादुर बस्नेतको निधन भए पनि उनकाे परिवारले यसलाई अझै निरन्तरता दिइरहेकाे छ ।

 

लाल चिया पसल

लाल चिया पसल  बर्दिवासमा चिया साम्राज्यको विकास गर्दै  दशकौँ लामो विरासत बोकेको चिया पसल हो ।

दिलीप भुजेलद्वारा सञ्चालित लाल चिया पसलले चिया संस्कारको विकास गर्नेमात्र हाेइन, चियाको अम्मल बनाएर मदिराबाट मुक्त बनाउन भूमिका खेलेको स्थानीय बताउँछन् ।

‘बर्दिवासमा पुगेकाहरू लाल चिया घरको चुस्की नलिई फर्कँदैनथे,’ अर्का चिया व्यापारी शंकर थापा स्मरण गर्छन्, ‘अहिले चाहिँ बन्द भएको छ ।’

 

न्यौपाने चिया पसल

पुरानाे पुस्ताले तन्नेरी हुँदा सञ्चालन गरेको चिया पसलमध्येको एक हो- न्यौपाने चिया पसल ।

यसका सञ्चालक दुर्गाप्रसाद न्यौपानेले अझै सोही चिया पसललाई निरन्तरता दिइरहेका छन् । न्यौपानेले भने उक्त चिया पसललाई परिमार्जन गरेर खाना, खाजा खुवाउने सेवा पनि विस्तार गरेका छन् ।

राजमार्गसँगै जोडिएको न्यौपानेको पसलले अहिले चिया पारखीहरूलाई मात्र तान्दैन  अझ खाजा, खानाको फरक परिकारले त्यहाँ पुग्न जोकोहीलाई बाध्य बनाउँछ ।

शाकाहारीहरूका लागि बेग्लै पहिचान बनाएको न्यौपाने चिया पसल खिर, रोटीलगायत परिकारले धार्मिक तीर्थयात्रीका लागि उपयुक्त गन्तव्य बनेको छ ।

स्थानीय माटोमा हुर्किएर स्थानीय मौलिक खाना र परिकारलाई निरन्तरता दिएका न्यौपानेले चियालाई पनि झन्डै ५ दशकदेखि मौलिकता दिएकै कारण बर्दिवास बटुवाहरूका लागि उपयुक्त गन्तव्य बनेको छ ।

सबैभन्दा पहिला सन् ७६०/६२ को हाराहारीमा एक चाइनिज लेखक लु युले पूरै पुस्तक चियाबारे लेखेका थिए । ChÚa  Zing अर्थात् The Classic of Tea पुस्तकको मूल ग्रन्थ हराएर पछि मिङ वंशको पालामा पुनर्लेखन भएको थियो । यो पुस्तकमा चियाको उत्पत्ति, रोप्ने, टिप्नेदेखि पिउँदासम्म प्रयोग गर्ने १५ भाँडाकुँडाहरू, बनाउने, पिउने तरिका, पाइने स्थान, इतिहास सबैको सविस्तार व्याख्या गरिएको छ ।

तर उल्लेखित चिया व्यापारीहरूले गरेको कर्मले नै बर्दिवासमा चिया संस्कारको विकास भएको हो । तर, मधेसमा चिया संस्कारको विकास गरी रोजीरोटीको माध्यम बनाउन सिकाउने उनीहरूको इतिहासलाई सरोकारवालाहरूले संरक्षण गर्न जरुरी देखिएको छ । त्यसैले त  चिया व्यापार हस्तान्तरित हुँदै अझै पनि चिया पारखीहरूका लागि झुम्मिने गन्तव्य बनेको छ- बर्दिवास ।