विद्यालयमा टाई हटाएर भादगाउँले टोपी अनिवार्य

विद्यालयमा टाई हटाएर भादगाउँले टोपी अनिवार्य


इटहरी ।

इटहरी उपमहानगरपालिकाले नगरका सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने भएको छ।

नयाँ शैक्षिक सत्रका लागि निजी तथा सामुदायिक स्कुल सबैका लागि एकैथरी पोशाक लगाउने निर्णय इटहरीले गरेको हो।

‘इटहरीका निजी तथा सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले एकैखालको पोसाक लगाउनुपर्ने गरी नियम बनाएका छौं,’ इटहरी उपमहानगरका नगर प्रमुख हेमकर्ण पौडेलले भने।

विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउने निर्णय गरेको उनले जानकारी दिए।

निजी स्कुलहरूले ड्रेस पनि बढी मूल्यमा आफ्नै स्कुलबाट बिक्री गर्ने गरेको र त्यो रोक्ने पनि उपमहानगरले जनाएको छ।

उपमहानगरका शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरूका छोराछोरी अनिवार्य रूपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने निर्णय पनि गरेको पौडेलले बताए।

इटहरीमा १३४ निजी र ३६ सामुदायिक गरी १७० वटा विद्यालय छन्। ६३ हजार ५ सय २६ विद्यार्थी एउटै पोसाकमा विद्यालय जानेछन्। नगर शिक्षा समिति इटहरीले विद्यार्थीको पोसाकमा विविधता देखिएको भन्दै एकरूपता ल्याउन यस्तो निर्णय गरेको हो।

विद्यालय आफैंले किताब बेच्ने गरेको गुनासो बढेपछि इटहरी उपमहानगरपालिकाले विद्यालय आफैंले किताब बेच्न नपाउने निर्णय गरेको छ। विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री-वितरण गर्न रोक लगाएको छ।