घाइते फेला परेका सोनामकाे मृत्यु, ४ जना पक्राउ

घाइते फेला परेका सोनामकाे मृत्यु, ४ जना पक्राउ


काठमाडौं ।

दोलखामा घाइते अवस्थामा फेला परेका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ।

गएराति करिब १ बजेतिर भिमेश्वर नगरपालिका-८ गामनागीस्थित चरिकोट-काठमाडौं सडकखण्डमा अन्दाजी २५ वर्षीय सोनाम तामाङ घाइते फेला परेका थिए।

घाइते अवस्थामा फेला परेका उनलाई प्रहरीले उपचारका लागि पशुपति चौलागाई स्मृति अस्पताल चरिकोट पठाएको थियो। त्यहाँ उपचारका क्रममा मंगलबार बिहान ३ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी दिपक खड्काले जानकारी दिए।

उनका अनुसार मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।

सोनामको शरीरमा चोटहरू र बा ८४ प १११३ नम्बरको मोटरसाइकलमा रगत लागेको देखिएको थियो। केहीबीच झगडा भएको खुल्न आएकाे भन्दै प्रहरीले चार जनालाई नियन्त्रणमा लिएकाे छ

सोनामको शव पोष्टमर्टमका लागि राखिएको छ। पोष्टमर्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।

प्रहरीले चार जनामाथि पनि सोधपुछ गरी अनुसन्धान गरिरहेको छ।