टेलिकम र मुद्रण केन्द्रका निर्देशक पौडेलद्वयलाई थप १० दिन हिरासतमा राख्न अनुमति

टेलिकम र मुद्रण केन्द्रका निर्देशक पौडेलद्वयलाई थप १० दिन हिरासतमा राख्न अनुमति


काठमाडौँ ।

विदेशमा सम्पत्ति लुकाएको आरोपमा पक्राउ परेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

विशेष अदालतले पौडेलद्वयलाई थप १० दिन हिरासतमा राख्न बुधवार अनुमति दिएको हो ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार पौडेलद्वयलाई थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरिएको छ । यसअघि ३ पटक ७ दिनका दरले २१ दिन हिरासतमा राख्न अनुमति दिइएकामा बुधवार थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरिएको हो ।

विदेशको बैंकमा रकम राखेको प्रमाण भेटिएपछि पौडेलद्वयलाई गत माघ १० गते अख्तियारको टोलीले पक्राउ गरी हिरासतमा राखेको थियो । सेक्युरिटी प्रिन्टिङ घोटाला प्रकरणमा मुछिएपछि उनीहरु निलम्बनमा परेका थिए ।

अख्तियारले २०८० असोज १५ गते पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । त्यस्तै २०८० वैशाखमा विकल पौडेल लगायतका व्यक्तिविरुद्ध ७० करोड रुपैयाँ बराबरको बिगो मागदावी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भइसकेपछि पनि स्रोत साधन दुरुपयोग गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको र विदेशमा सम्पत्ति लुकाएको तथ्य फेला परेको भन्दै उनीहरुविरुद्ध पक्राउ पुर्जी लिई अनुसन्धान सुरु भएको हो ।