फोहोर टिप्ने बहानामा चाेरी गर्ने ५ भारतीय नागरिक पक्राउ

फोहोर टिप्ने बहानामा चाेरी गर्ने ५ भारतीय नागरिक पक्राउ


काठमाडौं ।

फोहोर टिप्ने बहानामा काठमाडौंको विभिन्न स्थानमा करिब एक करोड बराबरको चोरी भएको छ।

चोरीमा संलग्न भएका पाँच जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको समस्तीपुरका २६ वर्षीय विकास पोदार, वेगुसरा जिल्लाका २८ वर्षीय जितेन्द्र पोदार, बैशाली जिल्लाका २७ वर्षीय भाईलाल पोदार, समस्तीपुर जिल्लाका ४० वर्षीय संजय पोदार र समस्तिपुर जिल्लाका ५० वर्षीया मञ्जु देवी पोदार रहेका छन्।

उनीहरूले काठमाडौंको गोकणेश्वर नगरपालिका-४ माकलवारीस्थित दिलमाया आले मगरको घरबाट ६५ लाख, काठमाडौं महानगरपालिका-१० स्थित दिनेश घिमिरेको घरबाट सुन तथा नगद गरी २५ लाख र गोकणेश्वर नगरपालिका-३ गीता राईको घरबाट सुन तथा चाँदीका गरगहना तथा नगद ४ लाख १० हजार रुपैयाँ चोरी गरेका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धनमाल चोरी गरी फरार रहेको घटनामा संलग्न रहेको आरोपमा २६ वर्षीय विकास पोदारलाई काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको थियो। उनलाई सोधपुछ गर्ने क्रममा अन्य चार जनाको पनि नाम भनेपछि बाँकीलाई पनि पक्राउ गरिएको हो।

उनीहरूको साथबाट सुनका विभिन्न गरगहना गरी अन्दाजी ३१.९४ तोला र विभिन्न कम्पनीका पाँच थान मोबाइल बरामद गरिएको छ। पक्राउ परेकालाई थप अनुसन्धान गर्नका लागि प्रहरी वृत बौद्ध पठाइएको छ।