नक्कली अपहरणको आराेपमा ताइवानका २ नागरिकलाई जेल सजाय

नक्कली अपहरणको आराेपमा ताइवानका २ नागरिकलाई जेल सजाय


एजेन्सी ।

कम्बोडियाली समुद्री किनारको एक रिसोर्टबाट नक्कली अपहरणको योजना बनाएको र त्यसको भिडियो फेसबुकको अनलाइनमा पोस्ट गरेको आरोपमा ताइवानका २ जनालाई २–२ वर्षको जेल सजाय सुनाइएको छ ।

प्रिह सिहानोक प्रान्तीय अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘३१ वर्षीय चेन नेङ–चुआन र ३४ वर्षीय लु सु–सिएनले सिहानोकभिलको एक भवनमा सुरक्षा गार्डले आफूलाई हिरासतमा लिएको र कुटपिट गरेको भिडियो फेसबुकमा पोस्ट गरेपछि पक्राउ गरिएको हो ।’

‘दुवै जना मानव बेचबिखन, यातनासहित हिरासतमा राख्ने, बलात्कार गर्ने र मानव अङ्ग बेचबिखनसम्बन्धी निन्दनीय भिडियो तयार पार्न कम्बोडिया प्रवेश गरेका देखिएको छ,’ अदालतले भनेको छ ।

अदालतले उनीहरूलाई ‘सामाजिक सुरक्षामा खलल पुर्‍याउन उक्साएको’ अभियोगमा बिहीबार एक सुनुवाइमा दोषी ठहर गरेको हो ।

अदालतले उनीहरूलाई जनही २ वर्षको जेल सजाय सुनाएको छ र झण्डै दुई हजार अमेरिकी डलर जरिमाना तिर्न आदेश दिएको छ ।

प्रान्तीय सरकारले ती व्यक्तिहरूले प्रान्तको इज्जत, सुव्यवस्था र सुरक्षामा असर पार्ने गरी ‘फेक कन्टेन्ट’ सहितको भिडियो बनाएको बताएको छ ।

अधिकांश ताइवानी र अन्य देशका केहीले अनलाइनमार्फत् भ्रामक सामग्री सम्प्रेषण गरी मानिसहरूलाई प्रलोभनमा पारेर पीडितहरूलाई ठूलो रकम ठग्ने गरेका पाइएको कम्बोडियाली प्रशासनले जनाएको छ ।

ताइवानको केन्द्रीय समाचार संस्था (सीएनए) का अनुसार ती मध्ये एक व्यक्तिले सोमबार राति एक भिडियोको प्रत्यक्ष प्रशारण गरेका थिए ।

भिडियोमा उनलाई अदृश्य आक्रमणकारीहरूले लखेटेको र पिटेको देखिन्छ भने दोस्रो भिडियोमा उनी भागेको दाबी गरिएको देखिन्छ ।

सीएनएका अनुसार दोस्रो भिडियोमा उनले आफू घाइते भएको र लुटिएको, बाँधेको, पिटेको र स्टन गनले आक्रमण गरेको वर्णन गरेका छन् ।

गत अगष्टमा संयुक्त राष्ट्रसङ्घले दक्षिणपूर्वी एसियामा आपराधिक गिरोहहरूले लाखौं मानिसहरूलाई यातनाको धम्की दिएर अनलाइन ‘स्क्याम’हरू गर्न बाध्य पारिरहेको चेतावनी दिएको थियो ।

संयुक्त राष्ट्रसङ्घले एक रिपोर्टमा भनेको छ, ‘अनलाइन अपराधमा काम गर्न धेरैलाई तस्करी गरिएको छ र यातना वा यौन हिंसाजस्ता गम्भीर उल्लंघनको सामना गर्नुपरेको छ ।