अतिक्रमणको चपेटामा परेको पुङ्गीखोला

अतिक्रमणको चपेटामा परेको पुङ्गीखोला


चितवन ।

भरतपुर महानगरपालिका–२ स्थित रामकृष्ण टोलका रामकृष्ण गुरुङ्ग २०२५ सालमा लम्जुङबाट चितवन झरेका हुन् ।

त्यतिखेर नारायणगढ क्षेत्रमा फ्याट्फुट घर थिए । उनी हाल बस्दै आएको रामकृष्ण टोल छेऊबाट पुङ्गीखोला फराकिलो हुँदै बग्दथ्यो । आजभोलि त्यो फराकिलो खोला उनले देख्न पाएका छैनन् ।

खोला साँघुरिँदै गएको छ । अहिले मानिसहरुले खोला मिच्दै गएका छन् । ‘यहाँ यो खोला कही साँघुरो र कही फराकिलो हुँदै बग्थ्यो’, पूर्व शिक्षक समेत रहेका गुरुङ्गले भने ‘अहिले ठुल्ठुला मान्छेले खोला अतिक्रमण गरेर संरचना बनाएका छन् ।’ स्थानीय तहले खोलाको जग्गा संरक्षण गर्नुपर्ने उनले बताए ।

यसरी अतिक्रमण बढ्दै गएपछि भरतपुर महानगरपालिकाले पुङ्गीखोला सिमाङ्कन तथा संरक्षण समिति समेत बनाएको छ । अहिले यो समितिले सिमाना छुट्टाउने काम गरिरहेको छ । आधाभन्दा बढी नाप जाँच गर्दा पुङ्गीखोला माथि ५० भन्दा बढी घर परेको महानगरपालिकाका नापि अधिकृत विकास देवकोटा बताउँछन् । उनका अनुसार, पुङ्गीखोला अतिक्रमण गर्नेमा वडा कार्यालयदेखि विभिन्न क्लबहरु रहेका छन् ।

दियालो फुडल्याण्डले पुङ्गीखोला र सिँचाइँको जग्गा गरेर करिब दुई कठ्ठा जमिन अतिक्रमण गरेको देवकोटाले बताए । ‘हामीले अहिले नै यति भन्न सक्ने अवस्था छैन । प्रारम्भिक अनुमान गर्दा दुई कठ्ठा हाराहारीमा अतिक्रमण भएको छ’–उनले भने । पर्खाल र टपमात्र पर्ने घरहरुको संख्या धेरै रहेको उनले बताए । खोला र नहरबाट तीन मिटर छोडेर भौतिक संरचना बनाउनुपर्ने हुन्छ । तर कतिपयले खोलाको सिमानाबाट नै घर उठाएका छन् । सिमाङ्कनको काम एक महिनाभित्र सकिने उनले बताए ।

भरतपुर महानगरपालिका ११ गणेशधामदेखि सुरु हुने यो खोला वडा नं २, ३ र वडा नं ४ को रामघाट बाह्रघरे हुँदै रामघाटमा पुगेर नारायणी नदीमा मिसिन्छ । साढे छ किलोमिटर रहेको यस खोला सबैभन्दा बढी वडा नं २ मा मिचिएको उनले बताए । उनका अनुसार रामकृष्ण टोल, जलदेवि टोल, समता स्कुल, दुई नम्बर वडा कार्यालय, मिल्स एरिया, वडा नम्बर तीनको आनन्द मार्गमा बढी मिचिएको छ ।

भरतपुर महानगरपालिका वडा नं २ को वडा कार्यालय पुरै खोलाको जमिनमा पर्दछ । वडा अध्यक्ष मनोज रानाभाट महानगरपालिकाको कार्यापालिकाको बैठकले पारित गरेपछि भवन निर्माण गरिएको बताउँछन् । उनका अनुसार, खोला र ऐलानी जग्गा गरेर पाँच कठ्ठाको हाराहारीमा वडाले ओगटेको जग्गा छ । यो खोलाको चौडाई एक नासको छैन ।

सब्जि मण्डि र लायन्सचोकबाट पश्चिम तर्फको एनपिआई कलेज क्षेत्रमा नक्साको लगत समेत भएको छैन । यस क्षेत्रमा खोला बगिरहेको क्षेत्रलाई हेरेर लगत संकलन गर्ने एक खालको मौखिक सहमति भएको छ । अन्य स्थानमा ६ देखि ६५ मिटरसम्म फराकिलो भएर खोला बगेको देवकोटाले बताए ।

महानगरपालिकाले अतिक्रमणको चपेटामा परेको पुङ्गीखोलामा तलाउसहित दाँया बाँया हरियाली पार्कसहित सौन्दर्यीकरणका लागि विभिन्न संरचना बनाउने योजना बनाएको छ । अहिले गणेशस्थानबाट काम समेत सुरु भएको छ । प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम र भरतपुर महानगरपालिकाको साझेदारीमा एक करोड रुपैयाँको लागतमा तलाउ निर्माण र हरियाली पार्कसहित सौन्दर्यीकरणका काम गरिएको छ ।

गुरुयोजनामा पार्क, फुटपाथ, साइकल ल्याण्ड, लगायतका संरचना बन्नेछन् । खोला अतिक्रमण गरेर बनाइएका सम्पूर्ण संरचाना हटाइने भरतपुर महानगरपालिका प्रमुख नरेन्द्र कुमार राना बताउँछन् । ‘खोला अतिक्रमण कसैले गर्न पाउँदैन् । बनेका संरचना छन् भने सबै हटाइन्छ’, उनले भने ‘वडाको भवन बनेको भएपनि भत्किन्छ ।’ तलाउ निर्माण ६६ लाख रुपैयाँमा सक्ने गरी कायाक कन्स्ट्रक्सनले कामको जिम्मा लिएको छ । तलाउ निर्माण पश्चात खोलाको संरक्षण र पर्यटकीय स्थान निर्माण हुने बताइएको छ ।