राप्रपा प्रदेश सांसद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

राप्रपा प्रदेश सांसद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौँ ।
वनको काठ तथा दाउरा हिनामिना गरेको आरोपमा राप्रपा प्रदेश सांसद जानकीप्रसाद यादव र लुम्बिनी प्रदेशका तत्कालीन वन निर्देशक कृष्णदत्त भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ मा कपिवस्तुको बुद्धभूमि गाउँपालिकामा रहेको गौतम बुद्ध सामुदायिक वन उपभोक्ता समितिको काठ तथा दाउराको राजस्व हिनामिना अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश सांसद यादव र वन निर्देशक भट्टसहित १९ जनालाई प्रतिवादी बनाएर मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार २९ लाख १२ हजार १ सय ९३ रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर भएको छ । ६ हजार ७ सय ६१ क्युफिट काठ र ४.५४ चट्टा दाउरा बापत आउने राजस्व नै दाखिला नगरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोग अख्तियारले लगाएको छ ।

आरोपी यादव लुम्बिनी क्षेत्र नम्बर ३(२) बाट गत निर्वाचनमा राप्रपाबाट निर्वाचित सांसद हुन् । एमाले नेता लीला गिरी लुम्बिनीको मुख्यमन्त्री हुँदा यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्रीसमेत बनेका थिए । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि यादव जसपाबाट स्थानीय तह निर्वाचनमा विजयनगर गाउँपालिका अध्यक्षका उम्मेदवार थिए ।