कार्यसम्पादन मूल्याङ्कनमा ५ महानगरपालिकालाई पछि पार्दै भरतपुर उत्कृष्ट

कार्यसम्पादन मूल्याङ्कनमा ५ महानगरपालिकालाई पछि पार्दै भरतपुर उत्कृष्ट


भरतपुर ।

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट घोषित भएको छ । देशभरिका अन्य छ महानगरपालिकालाई पछि पार्दै भरतपुर उत्कृष्ट भएको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक वर्ष २०७९/०८० मा गरेको कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर नै पहिलो भएको थियो ।

आगामी आव २०८१/८२ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १० वटा सूचकका आधारमा प्रदेशहरुको मूल्याङ्कन गरेको छ ।

आयोगले पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे नगरेको, राजस्वको विभाजन गरे नगरेको लगायतका सूचकका आधारमा मूल्याङ्कन गर्ने गर्दछ ।

आयोगले दिएको जानकारीअनुसार भरतपुरलले ५६ दशमलव २९ प्रतिशत अंक प्राप्त गरेको छ । काठमाडौँ महानगरपालिकाले ३९ दशमलव ०२, वीरगञ्ज महानगरपालिकाले ३३ दशमलव ४९ , विराटनगर महानगरपालिकाले ३२ दशमलव ८५ , ललितपुर महानगरपालिकाले २५ दशमलव १८ र पोखरा महानगरपालिकाले २० दशमलव ७४ प्रतिशत अङ्क पाएका छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेणू दाहालले आयोगले अध्ययन सुरु गरेपछि सधैँ भरतपुर महानगरपालिका अन्य महानगरभन्दा अगाडि रहेको बताइन् । गत वर्ष पनि महानगरले प्रथम स्थान हासिल गरेको र अहिले पनि यो काम राखेकोमा खुसी व्यक्त गरिन् ।

महानगरपालिकाले नेपाल सरकारले गर्ने मूल्याङ्कनमा सधै उत्कृष्ट राख्दै नयाँ रेकर्ड पनि कायम गर्दै आएको छ ।