महोत्तरी ।
यस वर्ष फागुन महिनामा महोत्तरीको बर्दिबासमा महोत्सवको माहोल छ । फागुन पहिलो साता ३ दिने सडक खाना महोत्सव सम्पन्न भएको बर्दिबासमा फागुन चौथो साता आदिवासी जनजाति महोत्सव हुने भएको हो ।
यही फागुन २४ देखि चैत ४ गतेसम्म नेपाल आदिवासी जनजाति महासंघ, महोत्तरी जिल्ला समन्वय परिषद्ले चोथो आदिवासी जनजाति महोत्सव आयोजना गर्न लागेको हो । आदिवासी जनजातिको परम्परा, रीतिथिति, संस्कृति र पहिचानको प्रवद्र्धन महोत्सवको मुख्य ध्येय रहेको महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष धननारायण श्रेष्ठले बताए ।
महोत्सवमा जिल्लामा बसोबास गर्दै आएका ९ भन्दा बढी आदिवासी जनजाति समुदायले आफ्ना सांस्कृतिक रीतिथिति, वेशभूषा र परम्परागत खाद्य परिकारको परिचय दिनेछन् । यस अवसरमा फरक–फरक समुदायका सांस्कृतिक प्रस्तुति गरिने महासंघ जिल्ला समन्वय परिषद्ले जनाएको छ ।
बर्दिबासमा आयोजना हुने ११ दिने यस महोत्सवमा स्थानीय कृषि उत्पादन, स्थानीय सीपबाट उत्पादित सामग्री र परम्परागत घरपरिवार प्रयोजनका सामग्रीको प्रदर्शनी र बेचबिखनका कक्ष सञ्चालन हुने जनाइएको छ । जिल्लाको हकमा तामाङ, मगर, नेवार, राईसहितका पर्वते र थारू, दनुवार, कुमाल (पर्वते र मधेसी दुवै), धानुक, केवटसहितका आदिवासी जनजातिको महोत्सवमा संयुक्त सहभागिता जनाउनेछन् ।
यस महोत्सवमा परम्परागत परिकार र सांस्कृतिक कार्यक्रमको मज्जा लिन विगतदेखि नै उल्लेख्य सङ्ख्यामा दर्शकको सहभागिता हुँदै आएको छ । सिन्धुली, सर्लाही र धनुषासँग जोडिएको र यातायातको सुगमताले बर्दिबासमा यसपालिको चौँथो महोत्सवमा पाँच लाख बढी दर्शक सहभागी हुने महासंघले अपेक्षा राखेको छ ।
प्रतिक्रिया