माता पाथीभरा सहकारीका अध्यक्ष जेल चलान

माता पाथीभरा सहकारीका अध्यक्ष जेल चलान


पर्वत ।

पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथीभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत पर्वतमा मंगलबार भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो । जिल्ला न्यायाधीश विद्याराज पौडेलको आदेशले उक्त फैसला सुनाएको श्रेस्तेदार राजु ढुंगानाले जानकारी दिए ।

श्रेष्ठसँगै कपास सफ्टवेयरका सञ्चालक प्रतिमान पौडेललाई पनि पुर्पक्षका लागि जेल चलान गर्न आदेश भएको छ । सहकारी ठगीमा श्रेष्ठ २० दिनदेखि प्रहरी हिरासतमा रहेका थिए भने यसअघि तपाईं–हाम्रो बहुउद्देश्यीय सहकारी र ग्रामीण विकास कृषि सहकारी संस्थाको ठगी प्रकरणमा प्रतिमान पौडेल पुर्पक्षका लागि थुनामै थिए ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार माता पाथीभरा बचत तथा ऋण सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको जनाउँदै बचतकर्ता अर्जुनकुमार श्रेष्ठलगायतले मुद्दा दायर गरेका थिए ।

सहकारी रजिस्ट्रार कार्यालयले अनुसन्धान गर्दा उक्त सहकारीमा ११ करोड ११ लाख ९० हजार तीन सय २२ हिनामिना गरेको आरोप बचतकर्ताको छ ।

सहकारीका अन्य २३ जना सञ्चालक भने फरार सूचीमा छन् । यसअघि कुश्माको तपाईं–हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका दुईजना र ग्रामीण विकास कृषि सहकारी संस्थाका ६ जना पुर्पक्षका लागि थुनामा रहेका छन् ।