सर्वोच्चले भन्याे-‘रातु नदीमा उत्खनन तत्काल रोक्नु, नगरपालिकासहित विपक्षी १८ चैतभित्र सर्वोच्चमा हाजिर हुनु’

सर्वोच्चले भन्याे-‘रातु नदीमा उत्खनन तत्काल रोक्नु, नगरपालिकासहित विपक्षी १८ चैतभित्र सर्वोच्चमा हाजिर हुनु’


महोत्तरी ।

सर्वोच्च अदालतले महोत्तरी र धनुषा भएर बग्ने रातु नदीमा तत्काल उत्खनन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश आनन्दमोहन भट्टराईको आइतबारको इजलासले रातु नदीबाट अवैध रूपमा ढुंगा, गिटी, बालुवा उत्खननका कारण वातावरणमा प्रतिकूल असर परेको ठहर गर्दै तत्काल उत्खनन रोक्न भनेको हो। साथै, बर्दिवास नगरपालिकासहित विपक्षीलाई १८ चैतभित्र सर्वोच्चमा हाजिर हुन भनिएको छ।

‘स्वस्थ र स्वच्छ वातावरण, स्वच्छ जीवन र मानव अधिकारको आधार रहेको सन्दर्भमा नदीजन्य पदार्थको अनियन्त्रित दोहन हुँदा वातावरणीय हानी हुन जाने र त्यसले मानव अधिकारको उपभोगमा पार्ने प्रतिकूल असर र हालको दोहनबाट उक्त (रातु) नदीमा निर्माण गरिएका तटबन्धमा समेत क्षति पुग्ने गएको अवस्थालाई दृष्टिगत गर्दा यस्तो कार्य तत्काल रोक्न आवश्यक देखिएकाले अन्तरिम आदेशका विषयमा टुंगो नलागेसम्मका लागि उत्खननको कार्य तत्काल रोक्नू’ अल्पकालीन आदेशमा भनिएको छ।

रातु नदीमा ढुंगा, गिटी, बालुवाको उत्खनन गर्दा संघ प्रदेश र स्थानीय तहद्वारा निर्मित कुनै पनि मापदण्ड वा प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकनको अनुसरण नभएको सर्वोच्चले ठहर गरेको छ। ‘आजका मितिदेखि नै उत्खनन बन्द गर्नुपर्छ। फेरि पनि उत्खनन गरेमा अदालतको मानहानी मुद्दा जान्छ,’ रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता पदमबहादुर श्रेष्ठले भने।