शौचालय गएकी १५ वर्षीया बालिकाको हत्या

शौचालय गएकी १५ वर्षीया बालिकाको हत्या


विराटनगर

मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया बालिकाको हत्या भएको छ ।

पथरीशनिश्चरे नगरपालिका–७ लामाटोलस्थित मामाको छोरा दाजु विनोद राईको घरमा बसेर पढ्दै आएकी खोटाङको अ‍ैसेलुखर्ककी १५ वर्षीया ज्ञानुकुमारी राईको हत्या भएको हो ।

पथरी मै रहेको पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् ।

विनोद नास्ता पसल सञ्चालन गर्छन् । पसलमा सहयोग गर्दै उनी पढ्दै आएकी थिइन् ।

प्रहरीका अनुसार सोमबार राति साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा उनको गर्धनमा धारिलो हतियार प्रहार भएको थियो । हतियार प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

प्रहरीका अनुसार उनी बस्ने घर बाहिर शौचालय छ । कोठाबाट शौचालय जाने क्रममा हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दाहालले बताए । हत्याको कारण र संलग्नको पहिचान भने भएको छैन ।

बालिका कराएको सुनेपछि घरका सदस्य बाहिर निस्कदा छटपटाइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

योजनावद्ध रुपमा हत्या भए जस्तो देखिएको प्रहरीले बताएको छ । ‘घटनामा संलग्नता खुलेको छैन,’ दाहालले भने,’ सूक्ष्म रुपमा अनुसन्धान गरिरहेका छौं ।’