उमेर पुगेपछि विवाह गर्नेलाई सम्मान

उमेर पुगेपछि विवाह गर्नेलाई सम्मान


डोटी ।

डोटीको जोरायल गाउँपालिका-६ ले विवाह गर्ने उमेर पुगेपछि विवाह गर्ने एक जोडीलाई सम्मान गरेको छ।

वडाले गत जेठ ३१ गते २० वर्ष पुगेपछि विवाह गर्नेलाई सम्मान गर्ने निर्णयका आधारमा एक जोडीलाई सम्मान गरेको हो ।

जोरायल गाउँपालिका-६ सित्तोलीकी २० वर्षीया युवतीले बैतडीको मेलौली नगरपालिका-३ कुजागाड घर भएका २६ वर्षीया कमल बोहराले विवाह गरेका थिए।

वडाध्यक्ष गणेशबहादुर बोहराले नवविवाहित जोडीलाई टीका, खादा, मायाको चिनो र नगद प्रदान गरिएको जानकारी दिए।

‘नवविवाहित दम्पत्तीको हामी माइती परेकाले गाडी भाडास्वरूप ४ चार हजार १२५ रूपैयाँ पनि दियौं,’ उनले भने।

दण्ड र सजायले मात्रै बालविवाह नरोकिने देखिएपछि सम्मान कार्यक्रमको सुरुवात गरिएको वडाले जनाएको छ।

यसप्रकारको कार्यक्रमले बालविवाह रोक्नका लागि सहयोगी हुने वडाध्यक्ष बोहराले बताए।

‘यो कार्यक्रम सुरु भएपछि अन्य दुई जोडीले उमेर पुगेपछि विवाह गर्नुभएको छ, उहाँहरूलाई केही समयमै सम्मान गर्नेछौं,’ उनले भने।

वडाको यस अभियानलाई यहाँ सक्रिय अन्य सङ्घसंस्थाले पनि साथ दिएका छन् । छाउपडी प्रथा, बालविवाह लगायतका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सिडिएफ नेपालले अभियानलाई साथ दिएको वडाध्यक्ष बोहराले बताए।

मुलुकी अपराध संहिता ऐन २०७४ मा २० वर्ष नपुगी गरे वा गराइएको विवाह स्वतः बदर हुने व्यवस्था छ।