बाँसबारी जग्गा प्रकरणमा सीआईबीले विनोद चौधरीको पनि बयान लिने

बाँसबारी जग्गा प्रकरणमा सीआईबीले विनोद चौधरीको पनि बयान लिने


काठमाडाैँ ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिने भएको छ ।

आइतबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँसबारीको छाला जुत्ता कारखानाको १० रोपनी जग्गा प्रकरणमा सांसद चौधरीको बयान लिन प्रहरीलाई निर्देशन दिएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौधरीलाई अनुसन्धान प्रक्रियामा ल्याउन बयान लिने भएको हो ।

गृहमन्त्री लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार माहतल ल्याउने प्रक्रिया पनि आजैदेखि सुरु गर्न गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँबर र सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीलाई निर्देशन दिएका थिए ।

बाँसबारी जग्गा प्रकरणमा यसअघि १८ माघमा सांसद चौधरीका भाइ अरुण चौधरीलाई सीआईबीले पक्राउ गरेको थियो । तर, २४ माघमा जिल्ला अदालत काठमाडौंको आदेशमा अरुण हाजिरी जमानीमा रिहा भएका थिए ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले अनुसन्धानमा सहयोग गर्ने गरी हाजिर जमानीमा छाडेर बाँकी अनुसन्धान पूरा गर्न सीआईबीलाई आदेश दिएको थियो ।