काठमाडौँ ।
नेपाल औषधि लिमिटेडले आजदेखि थप ३ प्रकारका औषधि उत्पादन सुरु गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको जानकारी दिएका छन् ।
तीनै वटा औषधि ट्याबेलटमा छन् । एउटा औषधि दैनिक डेढलाख ट्याबलेट उत्पादन गर्ने उनकाे भनाइ छ । यसअघि लिमिटेडले जीवनजल, सिटामोल, फोलिक एसिड, हेमाडायलासिसका दुई प्रकार (झोल र प्याकेटमा), ग्लिसिरिन, डिस्ट्रिल वाटर र स्यानिटाइजरलगायत उत्पादन गरिरहेको थियो ।
‘सरकारले आर्थिक सहयोग गरेको खण्डमा हामी थप अरु औषधि पनि उत्पादन गर्न सक्छौँ”, उनले भने । महाप्रबन्धक पनेरुले सरकारले २० प्रकारका औषधि उत्पादनका लागि रु २४ करोड बजेट बिनियोजन गर्ने भने पनि सो बजेट प्राप्त नहुँदा औषधि उत्पादनमा समस्या भएको बताए ।
वि.स २०२९ सालमा स्थापना भएको लिमिटेडले कुनै समय १२० प्रकारका औषधि उत्पादन गर्दथ्यो । तर, २०६२ सालमा उत्पादन बन्द भएपछि २०७४ सालमा पुनः सिटामोल उत्पादन गरी लिमिटेड सञ्चालनमा ल्याइएको हो ।
हाल आजदेखि सुरु गरेकाे ३ प्रकारकासहित लिमिटेडबाट उत्पादन हुने औषधिको सङ्ख्या ११ पुगेको छ ।
प्रतिक्रिया