५४ लख बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्ध खोप

५४ लख बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्ध खोप


काठमाडौँ ।

सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा करिब ५४ लाख ४२ हजार चार सय ६९ बालबालिकाले खोप लगाइसकेका छन् ।

बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले खोप अभियानमा करिब ९३ प्रतिशतले खोप लगाएको जानकारी दिएका छन् ।

गत फागुन १३ गतेदेखि दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पश्चिमरुकुम र जाजरकोटबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको छ । ती जिल्लाका कूल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

गाैतमले यही चैत ७ गतेसम्म सबै लक्ष्य हासिल गर्नेसमेत बताए । ‘हामीले सोचेजस्तो नै सबै बालबालिकाले खोप लगाएका छन्’, उनले भने, ‘हामीले निर्धारण गरेको लक्ष्यअनुसार सबै बालबालिकाले खोप लगाउँछन् ।’

दादुरा–रुबेलाको अतिसङ्क्रमित भारतसँग सीमा जोडिएका २१ तथा काठमाडौँ उपत्यकाका ३ गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्ष मुनिका र ५१ जिल्लाका ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइँदैछ ।

खोप बिहान १० देखि अपराह्न ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोपकेन्द्रमा लगाइएको छ । खोप अभियानका लागि देशभरि ४८ हजार सात सय ९८ खोपकेन्द्र रहेका छन् । यस्तै ४९ हजार नौ सय ३७ स्वास्थ्यकर्मी र ५९ हजार नौ सय छ स्वयंसेवक परिचालन गरिएको छ ।