खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ ।
हालसम्म हुम्लामा एक हजार नौ सय २० क्विन्टल, मुगुमा एक हजार एक सय ७३.५० क्विन्टल, जुम्लामा एक सय ३०, डोल्पामा पाँच सय ३५, कालीकोटमा एक सय ५० क्विन्टल गरी तीन हजार नौ सय ८.५ क्विन्टल पोषणयुक्त चामल बिक्रीका लागि पठाइएको कम्पनीका कर्णाली प्रदेश निमित्त प्रमुख माधव मिश्रले जानकारी दिए ।
आठवटा पौष्टिक तत्व मिलाएर राजापुर मिलबाट चामल उत्पादन भइरहेको छ । हाल सम्म आठ हजार चार सय ७६.९० क्विन्टल चामल उत्पादन भएको छ । ७३ हजार क्विन्टल चामलमा पौष्टिक तत्व मिलाएर उत्पादन गरिने उनले बताए । हुम्लामा विमानबाट चामल ढुवानी हुँदै आएको छ ।
निमित्त प्रमुख मिश्रका अनुसार साबिकको कर्णालीमा मात्र पहिलो चरणमा भए पनि आउँदो आर्थिक वर्षमा कर्णालीका सबै जिल्लामा उक्त चामल बिक्री गरिनेछ । दैनिक रूपमा खाइने चामलमा सामान्य विधिबाट भिटामिन तथा खनिज तत्व मिसाएर बनाइन्छ । हाल एक्स्टुजन विधिबाट चामलमा पौष्टिक तत्व स्तरोन्नति भइरहेको छ । यस विधिमा भिटामिन र खनिजको मिश्रणलाई चामलको पिठोमा मिलाई एक्स्टुजन मेसिनबाट चामलको जस्तै आकार र रङ हुने गरी उत्पादन गरिन्छ । स्तरोन्नति गरिएको चामलमा आइरन, जिंक, भिटामिन ‘ए’, फोलिक एसिड, भिटामिन बी–१२, थायमिन, नियासिन, पाइरिडक्सिन मिसाएर तयार गरिन्छ ।
दोस्रो चरणमा अन्य जिल्लामा पनि वितरण गरिने भएको छ । खाद्यविज्ञका अनुसार पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल साथसाथै दाल, तरकारी र फलफूल, माछा, मासु, दूधजन्य परिकार आदि मिलाएर उपयोग गरेमा शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ ।
चामलको गुणस्तरसम्बन्धी मापदण्डअनुसार स्तरोन्नति गरिएको प्रतिकिलो चामलमा आइरनको मात्रा ३९ देखि ७२ मिलिग्राम, जिंक ३२ देखि ५९ मिलिग्राम, भिटामिन ‘ए’ ०.८९ देखि २.२१, फोलिक एसिड ०.२४ देखि ०.५९ र भिटामिन बी–१२ भने ०.००७ देखि ०.०२० मिलिग्राम हुनुपर्नेछ । पौष्टिक तत्व स्तरोन्नति गर्दा आइरनको स्रोतका लागि फेरिक पाइरोफोस्फेट, जिंक स्रोतका लागि जिंक अक्साइड, भिटामिन ‘ए’को स्रोतका लागि रेटिनाइल पाल्मिटेट वा रेटिनाइल एसिटेट, फोलिक एसिड, भिटामिन बी–१२ को स्रोतका लागि साइनोकोबलामाइनजस्ता स्वरूपका यौगिकहरू थप गर्न सकिने मापदण्डमा उल्लेख छ ।
निकट भविष्यमा निजी क्षेत्रबाट पौष्टिक तत्व स्तरोन्नति गरिएको चामलको दाना नेपालमै उत्पादन गर्ने व्यवस्था मिलाइने बताइएको छ । नेपाल जनसांख्यकी तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ४३ प्रतिशत पाँच वर्षमुनिका बालबालिका, ३४ प्रतिशत रक्तअल्पताले गम्भीर जनस्वास्थ्य समस्याको सिकार भइरहेका छन् । नेपालमा विभिन्न प्रकारका कुपोषणको दरमा सुधार आइरहेको भए पनि सूक्ष्म पोषकतत्वको कमीका कारण हुने कुपोषणको दर उच्च रहेको अध्ययनले देखाएको छ ।
अन्य चामल कहाँ कति पठाइयो ?
कर्णालीका ३६ वटा डिपोमा प्रदेश कार्यालयबाट स्टिम जिरा चामल १६ हजार आठ सय २०.२५ क्विन्टल पठाइएको छ । त्यस्तै, अरुवा मोटो चामल पाँच सय ९० क्विन्टल, अरुवा सोना चामल १५ क्विन्टल, मोटा चामल चार सय ३३ क्विन्टल, मकवानपुर चामल नौ सय १२ क्विन्टल, स्टिम जिरा चामल नौ सय ४३.५० क्विन्टल कर्णालीका जिल्लामा पठाएको छ । लहान, थापाथली, वीरगन्ज, विराटनगर, राजापुर, धनगढी, बिर्तामोड, महेन्द्रनगरबाट कर्णालीमा खाद्यान्न आउने गर्दछ । यसमध्ये अघिल्लो वर्षको एक हजार १.२५ क्विन्टल चामल मौज्दात थियो । दुई सय ५० क्विन्टल गहुँ दैलेख शाखामा पठाएको कम्पनीले जनाएको छ ।
एक हजार एक सय लिटर सूर्यमुखी तेल, दुई हजार लिटर तोरी तेल, पाँच सय लिटर सोयाबिन तेल कालीकोटमा पठाइएको छ । ५.१० क्विन्टल मल्का ताल कालीकोट पठाएको छ । कर्णालीबाट थापाथलीमा ३४.७९ क्विन्टल सिमी, एक क्विन्टल चिनो चामल, १० क्विन्टल उवा र २० किलो फापर पठाएको छ । आठ सय ५० लिटर तोरी तेल मुगुमा पठाएको कम्पनीले जनाएको छ ।
६ वर्षपछि उपल्लो डोल्पामा पुग्यो चामल
कोभिडको महामारीदेखि चामल ढुवानी बन्द भएको उपल्लो डोल्पामा चालू आवदेखि चामल पठाउन सुरु गरिएको छ । शे–फोक्सुन्डाे गाउँपालिकाको साल्दाङ र डोल्पोबुद्ध गाउँपालिकाको धोमा खाद्यान्न ढुवानी भएको छ । साल्दाङमा पाँच सय क्विन्टल र धोमा एक सय पाँच क्विन्टल चामल सुर्खेतबाट उपल्लो डोल्पामा पुर्याएको छ । साल्दाङमा प्रतिकेजी ९५ र धोमा ९४ मा बिक्री हुने गरेको प्रदेश कार्यालयले जनाएको छ । डोल्पाको जुफाल, सहरतारा र दुनै शाखामा पनि चामल पठाइएको छ ।
प्रतिक्रिया