सेटिङमा ट्राफिक प्रहरीको असुली धन्दा !

सेटिङमा ट्राफिक प्रहरीको असुली धन्दा !

'दक्षिणा नटक्र्याए विभिन्न बाहानामा दु:ख दिने गर्छन्'


सिरहा ।

सिरहामा ट्राफिक प्रहरीको अबैध असुलि धन्दा अझै रोकीन सकेको छैन। व्यापक असुलि गरेको गुनासो बढेपछि सरकारले विद्युतीय भुक्तानी प्रणालि लागू गरे पनि सिरहा ट्राफिक प्रहरीको असुलि धन्दा अझै रोकिन सकेकाे छैन ।

पूर्व-पश्चिम राजमार्गमा चल्ने हल्का यात्रुवाहक सवारी साधान (म्याजिक, विङ्गर), बजार क्षेत्रबाट गाउँ पुर्याउने तीन पाङ्ग्रे सवारी साधान, ओभरलोड बोक्ने ट्रक–टिफर, ट्याक्टरहरुसँग मासिक असुलि गर्ने प्रकृया अझै नरोकिएको व्यसायीहरु बताउँछन्।

म्याजिक र विङ्गरहरुले क्षमताभन्दा बढी बोक्न पाउने सुविधाबापत व्यवसायी संघबाटै प्रत्येक महिनामा एकमुष्ट रकम जाने गरेको नाम नबताउने सर्तमा एक सवारी संघका पदाधिकारीले बताए। उनले भने, ‘यसरी नै चल्दै आएको छ। दक्षिणा नटक्र्याए विभिन्न बाहानामा दुख दिने गर्छ। त्यसैले पनि सवैबाट थाेरै थोरै उठाएर हामीले ट्राफिकलाई दिने गरेका छौं।’ यो प्रकृया जिल्लाका सबै ट्राफिक पोष्टमा त जान्छ नै लहानदेखि बर्दिवाससम्मका ट्राफिक मिलाउनु पर्ने बाध्यता रहेको उनले बताए।

दिनभरी गाडी चलाएर ड्राईभर, खलासी, तेलको लागत कट्टा गरी मुस्किलले हजार १५ सय हात पर्ने गरेको लहान वर्दिबास चल्ने एक म्याजिक व्यवसायीले बताए।  उनले भने, ‘दिनभर सडकमा गाडी कुदेर घर फर्कदाँ आफ्नो हातमा पर्ने रकमको टुङ्गो हुँदैन तर, संगठनमा रकम बुझाउनै पर्छ।’

त्यसैगरी, ओभरलोड गरेर सिरहाक्षेत्रमा हिड्ने प्रत्येक ट्रकले मासिक एक देखि दुई हजार, ट्याक्टले एक हजार देखि १५ सय सम्म बुझाउनु पर्ने बाध्यता नै रहेको व्यसायीहरु गुनासो गर्छन्। व्यवसायीहरु बताउँछन्, ‘थोरै लोड गरे पनि पोसाउँदैन, ओभरलोड गर्दा अलिकति फाईदा हुन्छ की भन्ने हो। त्यो पनि बाटोको ट्राफिक नमिलाई हुन्न।’

आर्थिक मन्दिका कारण मुस्किलले उद्योग चलाईरहेका सिरहाका इँटा व्यसायीहरु ट्राफिक प्रहरीको असुलि धन्दाको मारमा परेको बताउँछन्। उनीहरुले आफ्नो इँटा पुग्ने रुटमा सिजनको बेला प्रत्येक महिना १५ सयदेखि तीन हजार एउटा ट्राफिक विटमा बुझाउनु परेको गुनासो गर्छन्।

‘थोरै इँटा लग्दा पोस आउँदैन, ड्राईभर तिनै पर्यो, तेल खर्च भईनै हाल्छ। अलिकति बढी लोढ गर्यो ट्राफिक मनाउनै पर्यो जताबाट पनि व्यवसायी नै मारमा पर्छन्,’ इँटा व्यसायी प्रमोद सिंहले भने, ‘यस्तै हो सवैले चल्नै पर्यो मिलाएर काम गर्नै पर्छ। काम गर्ने भए पछि कतिसँग नियम कानुनको कुरा गर्दै हिड्ने।’

सिरहामा ५५ भन्दाबढी इँटा उद्योगको करिब तिन सय ५० वटा ट्याक्टर नियमित चल्ने गरेको छ। त्यतिकै संख्यामा सीमेन्ट उद्योगमा चल्ने ट्रक, टिफर छन्। साना सबारीको संख्या भने हजारको आसपासमा रहेको व्यसायीहरु  बताउँछन् ।