डडेल्धुरामा ट्रयाक्टर दुर्घटना : २ जनाको मृत्यु, २ घाइते

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना : २ जनाको मृत्यु, २ घाइते


डडेल्धुरा ।

डडेल्धुरामा गए राति ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

जिल्लाको नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बागमती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको र दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको उक्त कार्यालयका सूचना अधिकारी कुसुम नायकले बताए ।

उनीहरूको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।

धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदीप विक र डडेल्धुरा नवदुर्गा गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन् । उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।