लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव

लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव


लुम्बिनी ।

लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त अध्ययन समितिले लुम्बिनीको संरक्षण तथा विकासका लागि एक अध्ययन प्रतिवेदन प्रस्ताव गरेको छ ।

लुम्बिनी विकास कोषद्वारा ६ वैशाखमा गठित सो अध्ययन समितिले लुम्बिनी गुरुयोजना क्षेत्रभित्र भएका विभिन्न अनियमित क्रियाकलापलाई व्यवस्थित गर्ने गरी तत्काल कार्यान्वयनका लागि १२ बुँदे योजना बनाई कोषाध्यक्ष ढुण्डीराज भट्टराईलाई बुझाएको छ ।

लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँनले लुम्बिनीको पवित्रता र सम्पदा स्थलको संरक्षण गर्नुपर्नेमा जोड दिँदै लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईमार्फत् बुझाएको प्रतिवेदनमा विश्व सम्पदा सूचीमा सूचीकृत मायादेवी मन्दिरलाई अनधिकृत फेरबदल वा पुनर्निर्माणबाट जोगाउनुपर्नेमा जोड दिइएको बताए ।

यसबाहेक, समितिले धार्मिक स्थलमा आध्यात्मिक अभ्यासहरू प्रवर्द्धन गर्न नियमित पूजा उपासनाको महत्वलाई जोड दिँदै आध्यात्मिक कार्यक्रमहरू प्रस्ताव गरेको समितिका अर्का सदस्य मेघनाथ आचार्यले बताए । उनले भने, ‘यसले लुम्बिनीमा धार्मिक तथा आध्यात्मिक वातावरण कायम राख्न कार्यविधि बनाई लागू गर्नुपर्नेमा जोड दिएको छ ।’

समितिले उत्खननको समय मन्दिर परिसरभित्र रहेका बहुमूल्य धार्मिक तथा सांस्कृतिक कलाकृतिहरूको खोज तथा संरक्षण गर्न आग्रह गरेको छ ।

२०६२ सालको रिट नं २४५४ को मुद्दामा सर्वोच्च अदालतको आदेश बमोजिम मायादेवी मन्दिर प्रवेश शुल्क हटाउने गरी आम्दानीका वैकल्पिक उपाय खोज्न समितिले सुझाव दिएको छ । त्यसैगरी लुम्बिनी गुरुयोजना क्षेत्रभित्र पञ्चशीलका सिद्धान्तलाई कडाइका साथ कार्यान्वयन गर्न पनि कोषको कार्यकारिणी समितिलाई सिफारिस गरेको छ ।

ध्वनि प्रदूषण न्यूनीकरणका लागि समितिले गुरुयोजना क्षेत्रभित्र ठुला सवारीसाधन सञ्चालनमा रोक लगाउने र ठुला सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकालाई आम्दानीको १० प्रतिशत रकम सामुदायिक विकासका लागि विनियोजन गर्न पनि सिफारिस गरेको छ ।

अध्ययन समितिले गुरुयोजना क्षेत्रभित्र रहेको महेन्द्र स्तम्भ र रानी बगैँचा जस्ता ऐतिहासिक स्थलको संरक्षण र सौन्दर्यीकरण गर्न तथा लुम्बिनी संग्रहालय र प्राचीन मायादेवी सुत्केरी मार्गलाई व्यवस्थित गरी प्राथमिकताका साथ सञ्चालनमा ल्याउने प्रस्तावलाई तत्काल कार्यान्वयनमा ल्याउन आग्रह गरेको अध्ययन समिति सदस्य तथा लुम्बिनी पर्यटन व्यवसायी संघका अध्यक्ष हुसेनी लोधले बताए ।