मधेसका ५५ लाखबढी नागरिक बीमाको पहुँच बाहिर

मधेसका ५५ लाखबढी नागरिक बीमाको पहुँच बाहिर


वीरगन्ज ।

मधेश प्रदेशका ९०.६ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका छन्। यहाँ बीमासम्बन्धी सचेतनाको कमी र सीमापार बीमा गर्ने परिपाटीका कारण बीमाप्रतिको आकर्षणमा कमी आएको हो।

मधेश प्रदेशको कुल जनसंख्या ६१ लाख १४ हजार रहेको छ। नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसंख्यामध्ये २०८० चैत मसान्तसम्म ९.४ प्रतिशत अर्थात् ५ लाख ७३ हजार ४३३ ले मात्रै बीमा गराएका छन्।

यो तथ्यांख्याले मधेशमा बीमाप्रति सर्वसाधारणको आकर्षण कम रहेको देखाउँछ। नेपाल बीमा प्राधिकरण मधेश कार्यालयका प्रमुख कुशुम शर्माले तीनवटै तहका सरकारको समन्वयमा प्रदेशभरका जनताको बीमा गर्ने योजना अघि बढाउन आवश्यक रहेको बताए।

“मधेश प्रदेशमा बीमाको पहुँच न्यून देखिएको छ। यहाँका जनताको आर्थिक तथा स्वास्थ्यको स्तर कमजोर भएकाले तीनवटै तहको सरकारले आवश्यक समन्वय गरेर प्रदेशभरिका जनताको बीमा गरिदिने परिपाटीको विकास गर्न आवश्यक देखिएको छ,” उनले भने, “यसअघि कर्णाली प्रदेश सरकारले त्यहाँका सबै जनताको बीमा गरिदिएझैँ यहाँ पनि सबै जनताको बीमा गर्न जरुरत देखिन्छ, त्यसका लागि आवश्यक सहजीकरण गर्न प्राधिकरण तयार छ।”

मधेश प्रदेशमा मात्रै होइन, समग्र मुलुकभरिका नागरिकमा बीमा पहुँचको अवस्था सन्तोषजनक छैन। २०८० को चैत मसान्तसम्म मुलुकभरका ४३.३ प्रतिशत जनसंख्या मात्रै बीमाको पहुँचमा छन्। अझै ५६.७ प्रतिशत नागरिक जीवन बीमाको पहुँचभन्दा बाहिर छन्। २०७५ सम्म यो संख्या १७ प्रतिशतमा थियो।

नागरिकमा बीमा साक्षरतासम्बन्धी ज्ञानको कमी र सीमावर्ती बजारमा बीमा गर्ने परम्पराले कमी आएको बताए। “मधेश प्रदेशमा उच्च गरिबी र अशिक्षाका कारण बीमा गर्नुपर्छ भन्ने सोचको विकास हुन सकेको छैन,” उनले भने, “भारतीय सीमावर्ती बजारका कारण सीमापारी बीमा गर्ने परिपाटीले मधेश प्रदेशमा बीमाप्रति सर्वसाधारणको आकर्षण अपेक्षाकृत रूपमा बढाउन सकिएको छैन।”

बीमाबाट अनुचित लाभ लिन खोज्ने प्रवृत्ति, बीमकको शाखारउपशाखामा न्यून जनशक्ति र बीमासम्बन्धी गलत बुझाईले बीमालाई प्राथमिकता नदिँदा आकर्षण बढ्न सकेको छैन।

निप्स लाइफ वीरगञ्जका अध्यक्ष प्रमोदप्रसाद शाहले बीमा कम्पनीबीचको अस्वस्थ प्रतिस्पर्धाको मारमा सर्वसाधारण पर्दा बीमाप्रतिको आकर्षण बढाउन नसकिएको बताए।

“बीमा दाबी भुक्तानी प्रक्रियागत झन्झट र लम्बेतान प्रक्रियाले सर्वसाधारणले समस्या भोगिरहनुभएको छ। सर्वसाधारणले भोगेका समस्या समाधान गर्न हामीले आवश्यक काम गर्दै आइरहेका छौँ,” शाहले भने, “बीमा कम्पनीले बीमाकर्ताबाट प्रिमियम लिएपछि भुक्तानी प्रक्रियालाई सहज बनाएर सर्वसाधारणलाई बीमाप्रति आकर्षण बढाउनेतर्फ आवश्यक कदम चाल्न जरुरी छ।”

मधेश प्रदेशमा २०८० चैत मसान्तसम्म जीवन बीमातर्फ २२५ शाखा कार्यालय रहेका छन्। त्यस्तै निर्जीवन बीमातर्फ १२८ र माइक्रो जीवन बीमातर्फ सात र माइक्रो निर्जीवन बीमातर्फ चार गरी कुल ३६४ वटा बीमा कार्यालयका शाखा छन्। गत आवमा जीवन र निर्जीवन र अन्यतर्फ गरेर ३४० वटा शाखा कार्यालय रहेका थिए।

मधेशमा ‘सरेन्डर’ बीमालेख संख्या नौ हजार ४६५ छ। कार्यालयका अनुसार चालु आवमा दाबी भुक्तानी बीमालेख संख्या १५ हजार ४५० छ। मधेशमा शमा निर्जीवन सक्रिय बीमालेख संख्या दुई लाख ३८ हजार ३४१ छ। त्यस्तै निर्जीवन बीमातर्फ कुल बीमा शुल्क संकलन एक अर्ब ९९ करोड रहेको छ।

मधेस प्रदेशमा कुल ‘ग्रेस क्लेम’ बीमालेख संख्या ६ हजार ३९४ रहेको छ। कुल दाबी भुक्तानी बीमालेख पाँच हजार १८ रहेको छ।