आईटीबाट १० वर्षमा ३० खर्ब निर्यात गर्ने लक्ष्य लिएको अर्थमन्त्रीको दाबी

आईटीबाट १० वर्षमा ३० खर्ब निर्यात गर्ने लक्ष्य लिएको अर्थमन्त्रीको दाबी


काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेटमा मुख्य आर्थिक सुधारका रुपान्तरणकारी रणनीतिहरूमा नयाँ क्षेत्रको रुपमा आईटीलाई राखिएको बताएका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा आर्थिक सुधारका मुख्य पाँच रुपान्तरणकारी रणनीतिमा कृषि, ऊर्जा, सूचना प्रविधि (आईटी), पर्यटन प्रवर्द्धन र औद्योगिक क्षेत्र प्रस्तुत गरेको छ ।

बजेटमा प्रस्तुत पाँच रूपान्तरणकारी रणनीतिमध्ये आईटी अर्थात् सूचना प्रविधि नयाँ भएको अर्थमन्त्री पुनले बुधबार आयोजित पत्रकार सम्मेलनमा सुनाए ।

आर्थिक सुधारका पाँच रुपान्तरणकारी रणनीतिहरूमा कृषि क्षेत्र आधार स्तम्भ रहेको उनले बताए ।

‘नेपालले ठूल्ठूला औद्योगिक क्षेत्रमा उत्पादन गरेर प्रतिस्पर्धा गर्न सक्छ, तर त्यसको सीमा छ र केही सीमितता छन् । आईटी क्षेत्रमा राम्रो प्रतिस्पर्धी बन्नसक्ने सम्भावना नेपालले बोकेको छ । हामीसँग पर्याप्त जनशक्ति, अवस्थिति र अहिले गरिरहेको प्रयत्नले प्रचुर सम्भावना बोकेको छ । अहिले तीव्र विकास सम्भव देखिएको क्षेत्र आईटी हो’, अर्थमन्त्री पुनले भने ।

बजेटमा सूचना प्रविधिमा नेपालले १० वर्षमा ३० खर्बसम्मको निर्यात गर्ने लक्ष्य उल्लेख गरिएको छ ।

अर्थमन्त्रीले भने, ‘आईटी क्षेत्रबाट १० वर्षमा ३० खर्बको उत्पादन गरेर निर्यात गर्न सक्छौं । यो कुनै आधारहीन कुरा होइन । तथ्याङ्क र तथ्यमा टेकेर गरिएको हाम्रो दाबी हो । हामीले अध्ययन तथा बृहत छलफल गरेरै घोषणा गरेका हौं । अहिले हेर्दा असम्भव जस्तो र महत्त्वाकांक्षी देखिए तापनि यो सम्भव छ ।’

बजेटमा काठमाडौंलाई आईटी हब बनाउने घोषणा गरिएको छ । अर्थमन्त्री पुनले आईटी पार्क अर्थात् हब बुटवलमा पनि बनाइने बताए । हरेक प्रदेशको नीति तथा कार्यक्रममा पनि आईटी हबका लागि स्थान बनाइने कुरा आइसकेको उनको भनाइ छ ।

अर्थमन्त्री पुनले आईटी हबका लागि आवश्यक विद्युत, इन्टरनेट तथा सुरक्षा सरकारले ग्यारेन्टी गर्ने बताए ।