जेठभित्र नवीकरण नगर्ने क्यासिनोको इजाजत स्वतः खारेज हुने

जेठभित्र नवीकरण नगर्ने क्यासिनोको इजाजत स्वतः खारेज हुने


काठमाडौं । हरेक आर्थिक वर्षको जेठ मसान्तभित्र इजाजत नवीकरण नगरेमा क्यासिनोहरूको इजाजत स्वतः रद्द हुने भएको छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८० ले पर्यटन ऐनमा गरेको संशोधनले सो व्यवस्था गरेको छ ।

पर्यटन विभागले ऐनमा भएको यो प्रावधान स्मरण गराउँदै जेठ मसान्तभित्र नवीकरण गरी इजाजत कायम गराउन सबै क्यासिनो सञ्चालकहरुलाई सचेत गराएको छ ।

पर्यटन विभागका अनुसार क्यासिनो सञ्चालनको इजाजत पत्र प्राप्त व्यक्तिले क्यासिनो सञ्चालनको इजाजत मान्य अवधि सकिनुभन्दा कम्तीमा तीस दिन अगावै क्यासिनो सञ्चालनको इजाजत पत्र नवीकरण गर्न निवेदन दिनुपर्छ ।

त्यसरी निवेदन नदिएमा क्यासिनोको इजाजत पत्र स्वतः रद्द हुने भन्दै क्यासिनो सञ्चालकहरूलाई सचेत गराएको हो ।

क्यासिनो नवीकरण गर्दा चालु आवको जेठ मसान्तभित्र बक्यौता र तोकिए अनुसारको क्यासिनो रोयल्टी रकम, नवीकरण दस्तुर समेत बुझाउनु पर्छ ।