संसद अवरोधले भएको क्षति पूर्ति गर्न कांग्रेस दिनरात काम गर्न तयार छ : गगन थापा

संसद अवरोधले भएको क्षति पूर्ति गर्न कांग्रेस दिनरात काम गर्न तयार छ : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लामो समयदेखिको संसद अवरोध भएको क्षतिपूर्ति गर्ने गरी काँग्रेस दिनरात काम गर्न तयार रहेको बताएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकको विशेष समयमा उनले त्यसका लागि सभामुख र प्रधानमन्त्री तयार भएर अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले नेपाली कांग्रेस महत्त्वपूर्ण र तत्काल टुंगोमा पुर्‍याउनुपर्ने विधेयकमा काम गर्न तयार र आतुर भएको भन्दै त्यसको सदुपयोग गर्नका लागि सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विशेष समयमार्फत आग्रह गरे ।

उनले भने, ‘म नेपाली कांग्रेस पार्टीको तर्फबाट यो बजेट सत्रको आजको दिनमा सम्माननीय सभामुख महोदयमार्फत सरकारलाई आग्रह पनि गर्न चाहन्छु, आश्वस्त पनि पार्न चाहन्छु । सरकार ठिक ढंगले आओस । सरकार आग्रहबाट मुक्त भएर आओस् । जिम्मेवारी बोधका साथमा आओस् । कांग्रेस २४ घण्टा र सातै दिन काम गर्न तयार छ । अस्ति सदन जति दिन अवरोध भयो, त्यसको क्षतिपूर्ति गर्ने गरी हामी दिनरात नभनेर हामी काम गर्न तयार छौ । किनकि हामी चाहन्छौ, यो सत्रबाट हिजो पारित हुन नसकेका जति पनि विधेयक छन्, यी महत्त्वपूर्ण र तत्काल टुंगोमा पुर्‍याउनुपर्ने विधेयकमा हामी काम गर्न तयार छौ । काम गर्नका लागि आतुरताको जिम्मेवारी बोधको कसरी उपयोग गर्ने कुरा कि सम्माननीय सभामुख महोदयले जान्ने कुरा हो त कि त सरकारका सम्माननीय प्रधानमन्त्रीले जान्ने कुरा हो ।’