डोकोमा गाग्री बोकेर स्थानीयले घेरे गाउँपालिका कार्यालय

डोकोमा गाग्री बोकेर स्थानीयले घेरे गाउँपालिका कार्यालय


सुर्खेत । हिजो आज देशैभर गर्मी बढेको छ। गर्मीयामको समय भएकाले भएका अधिकांश खानेपानीको मुहान, इनार सुकेका छन्। दिनप्रतिदिन बढेको गर्मीका कारण पानीको हाहाकार भएको छ। वर्षौंदेखि पानीको अभाव झेल्दै आएका सुर्खेतको चौकुने गाउँपालिका ५ रेक्चाका वासिन्दाले पालिकाको कार्यालय घेराउ गरेका छन्। रेक्चावासी खानेपानीको माग राख्दै बिहीबार गाउँपालिका घेराउ गर्न पुगेका हुन्।

खानेपानीका लागि भूमिगत कुवा रहेको रेक्चामा यो वर्ष बढ्दो गर्मीका कारण सुकेपछि स्थानीयहरू स्थानीय सरकारदेखि आक्रोशित बनेका छन्। चौकुने गाउँपालिका–५ मा पर्ने रेक्चामा झण्डै ४० घरधुरी रहेका छन्। सुख्खा खडेरीमा भूमिगत कुवा सुक्दा काकाकुल बनेका स्थानीयहरूले गाग्रीसहित पालिकामा पुगेर प्रदर्शन गरिरहेका छन्। उनीहरूले २१ औं शताब्दीमा एक गाग्री पानीका लागि कहिलेसम्म कुर्नुपर्ने सरकार भन्दै प्रदर्शन जारी राखेका छन्। रेक्चा खानेपानी संघर्ष समिति नै गठन गरेर स्थानीय प्रदर्शनमा उत्रिएका छन्। चैकुने गाउँपालिका अध्यक्ष खड्कबहादुर विश्वकर्माले पानीको माग गर्दै पालिकामा आएको जानकारी पाएको तर, आफू कार्यालयमा नभएको बताए। उनले स्थानीयसँग वार्ता गर्न वडाअध्यक्षलाई जिम्मेवारी दिइएको जानकारी दिए।

‘म अहिले बस्ती स्तरको योजना छनौटका लागि गाउँपालिकाको कार्यालय बाहिर छु। मसहित पालिका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको टोली बेनीघाटतिर आएका छौँ’उनले भने, ‘पीडितहरूको माग सम्बोधन र वार्ताका लागि पालिका नजिकैको ८ नम्बर वडा कार्यालयका वडाध्यक्षलाई प्रतिनिधिका रुपमा खटाएको छु।’