त्रिपालकाण्डमा मुछिएका सिंह योजना आयोगको सदस्यमा नियुक्त

त्रिपालकाण्डमा मुछिएका सिंह योजना आयोगको सदस्यमा नियुक्त


काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्यमा पूर्वसचिव डा। रमेश प्रसाद सिंह नियुक्त भएका छन् । गत जेठ २४ गतेको मन्त्रिपरिषद बैठकबाट सिंह योजना आयोगको सदस्यमा नियुक्त भएका हुन् ।

जसपा नेपाल सरकारबाट बाहिरिएपछि सोही पार्टीको कोटाबाट सदस्य बनेका उमाशंकर प्रसादले राजीनामा दिएपछि योजना आयोगमा एक सदस्य पद रिक्त थियो । सो ठाउँमा अशोक राई नेतृत्वको जसपाको कोटाबाट पूर्वशहरी विकास सचिव डा। सिंह नियुक्त भएका हुन् । जेठ २४ को मन्त्रिपरिषद बैठकले नियुक्त गर्ने निर्णय गरे पनि उनी कार्यभार सम्हाल्न भने नआइसकेको राष्ट्रिय योजना आयोग स्रोतले बतायो ।

डा सिंह २०७२ को भूकम्पताका त्रिपाल खरिदको भुक्तानी प्रकरणमा मुछिएका थिए । भूकम्प पीडितहरूका लागि शहरी विकास मन्त्रालयले त्रिपाल खरिद गरेको थियो । माता इन्टरप्राइजेज, ए।एस। इन्टरप्राइजेज, दीपकिरण प्रिन्टिङ एन्ड ट्रेडर्स र अजय शुभ ट्रेडर्सले त्रिपाल आपूर्ति गरेका थिए । त्रिपाल आपूर्तिका क्रममा भ्रष्टाचार भएको आरोप लागेपछि भुक्तानी प्रक्रिया रोकियो ।

विशेष अदालत उनीहरुलाई सफाइ दिँदै मुद्दा किनारा लागे पनि शहरी विकास मन्त्रालयले त्रिपाल आपूर्तिको भुक्तानी नदिएपछि आपूर्तिकर्ताहरु मन्त्रालयविरुद्ध उच्च अदालत पुगे । सो मुद्दामा उच्च अदालत पाटनले तीन महिनाभित्र रकम भुक्तानी गर्न र यदि भुक्तानी नगरे पाँच सय रुपैयाँ जरिवाना हुने आदेश सुनाएको थियो । उच्च अदालतको सोही आदेशविरुद्ध सिंह सर्वोच्च अदालत गएका हुन् । सर्वोच्चमा सो मुद्दा विचाराधीन छ ।

उच्च अदालत पाटनले आदेश कार्यान्यवयन नभएको भन्दै २०८० जेठ २ गते शहरी विकास मन्त्रालयलाई पत्र लेखेर ताकेतासमेत गरेको थियो ।