काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका बजेट केही व्यापारीहरुको स्वार्थमा बनाएको प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले आरोप लगाएका छन् ।
नेकपा (माओवादी केन्द्र) का ३२ जना सांसदलाई लक्षित गरेको सो बजेट अर्थमन्त्री पुनले केही व्यापारीहरुको स्वार्थमा बनाएको उनको भनाइ थियो ।
आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथीको छलफलमा भाग लिँदै सांसद सिंहले माआवादी केन्द्र समाप्त हुने अवस्थामा रहेकाले अर्थमन्त्री पुनले सो पार्टीका जित्ने निर्वाचन क्षेत्रमा मात्रै सरकारले बजेट विनियोजन गरेको जिकिर पनि गरे ।
उनले भने, ‘ नियम, कानून मन्त्रीलाई लाग्दैन । उहाँले जति बजेट आफ्नो क्षेत्रमा लगेपनि, जे गरेपनि, जति घुस खाएपनि क्षम्य छ । यो बजेट केही व्यापारीले बनाएको छ अर्थमन्त्रीजीको इन्टेरेष्टमा ।’ उनले बजेट जसरी विनियोजन गरेपनि मन्त्रीहरुलाई कानून नलाग्ने छुट संविधानले नै दिएको दाबी समेत गरे ।
सांसद सिंहले अर्थमन्त्री पुनले बजेट विनियोजनको क्रममा निर्धा सांसदहरुलाई बेवास्ता गरेको गुनासो पनि गरे ।
प्रतिक्रिया