एनजीओको खाजाका कारण राज्य व्यवस्था समितिको बैठक स्थगित

एनजीओको खाजाका कारण राज्य व्यवस्था समितिको बैठक स्थगित


काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ। गैरसरकारी संस्था (एनजीओ)का कर्मचारी खाजासहित बैठकमा उपस्थित भएपछि उक्त बैठक स्थगित भएको हो ।

समितिका सदस्य हृदयराम थानीका अनुसार बिहान ८ बजे बोलाइएको बैठकमा उनी केही मिनेट ढिला पुगेका थिए। ‘म चार मिनेट जति ढिलो पुगेको थिएँ। जाँदा टेबुलमा काँटा चम्चा देखेँ। के हो यस्तो भनेर सुरुमा मैले नै कुरा उठाएँ,’ सांसद थानीले भने।

समितिमा ‘भीआईपी खाजा’ पक्कै कसैले स्पोन्सर गरेको होला भनेर आफूले जिज्ञासा राखेको, त्यमसा अन्य सांसदहरू समेतले चासो राखेको र छलफलका क्रममा एनजीओको कर्मचारीसमेत सभा कक्षभित्रै रहेको थाहा भएको उनले जानकारी दिए।

छलफलमा सांसदहरूले समितिमै एनजीओका कर्मचारी खाजासहित उपस्थित हुने विषयले ठूलो अर्थ राख्ने भएकाले यसरी जनताको हित केन्द्रित रहेर कानुन बनाउन नसकिने बताए।

बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि उपस्थित थिए। गृहमन्त्री लामिछानेले एनजीओको खाजा खाएर कानुन बनाउने विषय उचित नरहेको बताए। आफू यस्तो छलफलमा नरहने भन्दै गृहमन्त्री लामिछाने बाहिरिए।

त्यसपछि केहीबेर समिति सदस्यहरू आन्तरिक छलफलमा रहे। तर बैठक औपचारिकतामा प्रवेश नै गर्न सकेन।

‘एनजीओको खाजा खाएर विधेयकमाथि छलफल गर्ने कुरा राम्रो हुँदैन, यसले राम्रो सन्देश जाँदैन। साथै गृहमन्त्रीसमेत नरहेको अवस्थामा समितिको बैठक बस्न नहुने कुरा राखियो। त्यसपछि बैठक स्थगित भयो’ सांसद थानीले भने।

समितिको आइतबारको बैठकमा संघीय निजामती ऐन संशोधन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो। तर बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन। सांसदहरूका अनुसार एनजीओका प्रतिनिधिलाई आजको बैठकमा बोलाइएका कारण उनीहरू उपस्थित भएका थिए।