बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने सांसद शर्माको नयाँ प्रस्ताव

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने सांसद शर्माको नयाँ प्रस्ताव


काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले संसदमा नयाँ प्रस्ताव अघि सारेका छन् ।

मन्त्रालयगत छलफलका क्रममा उर्जा मन्त्रालयका छलफलमा सहभागी हुँदै महामन्त्री शर्माले सरकार (जी), डायस्पोरा (डी) र निजी क्षेत्र (पी) को सरकार्यको अवधारणा अघि सारेका हुन् । सरकारले आफैं बनाउने घोषणा गरे अनुसार कम्तिमा आठ वर्ष आयोजना बन्न लाग्ने र त्यसका लागि हरेक वर्ष अर्बौं रकम लगानी गर्नुपर्ने अवस्था रहेको उनले सुनाए ।

‘सरकार, डायस्पोरा र निजी क्षेत्र । बुढीगण्डकी आयोजना बनाउन विभिन्न विकल्पहरु आएका छन् । मलाई यो उपयुक्त लाग्यो,’ महामन्त्री शर्माले भने,‘नेपालको समुन्नतिका लागि संसार भरका नेपालीहरु एक हौं भन्ने भावना जरुरी छ ।’ न्यूनतम हजार डलर देखि अधिकतम् २५ हजार डलरसम्म लगानी गर्ने गरी विदेशमा रहेका नेपालीलाई आयोजनामा सहभागी गराउन सकिने उनले सुनाए ।

१२ सय मेघावाटको आयोजना बुढीगण्डकी आयोजना बनाउने लागत तिन खर्ब ९८ अर्ब लाग्ने आकलन गरिएको छ । सरकारले उक्त आयोजनालाई विदेशी कम्पनीलाई दिने निर्णय रद्द गरेर आफैं बनाउने निर्णय गरेको थियो ।

वर्तमान अर्थतन्त्रको क्षमता अनुसार ४ खर्ब एउटा आयोजनामा कसरी खन्याउन सकिन्छ भन्ने प्रश्न रहेको उनले सुनाए । ‘ऋणमा बनाएका पोखरा र भैरहवाको एयरपोर्टले हामीलाई झस्काएको छ । त्यसलाई तिर्नका लागि हामीसँग पैसा छैन,’ शर्माले भने ।

संकटको बेला सरकारले आयोजना निर्माण गर्न सके नागरिकमा मनोबल भने बढ्ने उनले बताए ।