समयमै ऋण भुक्तान गर्न सहकारी विभागको आग्रह

समयमै ऋण भुक्तान गर्न सहकारी विभागको आग्रह


काठमाडौ । सहकारीबाट लिएको ऋण समयमै भुक्तान गर्न सहकारी विभागले ऋणीहरूलाई आग्रह गरेको छ । एक सूचना जारी गर्दै जुन सम्झौता वा शर्तबमोजिम ऋण लिएको हो सोही बमोजिम ऋणको सावाँ र ब्याज लगायतको रकम समयमै तिरेर जिम्मेवार सदस्यको दायित्व पूरा गर्न विभागले आग्रह गरेको छ ।

जारी सूचनामा भनिएको छ, ‘सहकारी संस्थाहरुबाट ऋण लिएका ऋणी सदस्यहरुले तोकिएको समयभित्र ऋणको सावाँ तथा ब्याज चुक्ता नगर्दा केही संस्थाहरुमा तरलताको समस्या भई सदस्यहरुको बचत फिर्ता गर्न नसकेको गुनासो आइरहेको छ । सहकारी संस्थामा सदस्यहरुको बचत रकम नै कर्जाको रुपमा प्रवाह हुने र ऋणी सदस्यहरुले समयमा नै आफुले भुक्तान गर्नुपर्ने सावाँ तथा ब्याज चुक्ता नगर्दा सदस्यहरुको बचत फिर्तामा नकरात्मक असर परेको छ ।’

साथै प्रचलित कानुनी व्यवस्थाको पूर्ण परिपालना गरी सहकारी संस्थाहरुलाई आफ्ना सदस्यहरूको बचत समयमा फिर्ता गर्न र ऋण तथा बाँकी बक्यौता असुली गर्ने तर्फ थप क्रियाशील हुन पनि विभागले ध्यानाकर्षण गराएको छ ।