रकमान्तर रोकिएपछि मन्त्रालयमा खैलाबैला

रकमान्तर रोकिएपछि मन्त्रालयमा खैलाबैला


काठमाडौ । चालू आर्थिक वर्ष  ०८०/८१  को बजेटमै ‘असार महिनामा रकमान्तर नगर्ने’ शब्द राखिएकाले अहिले रकमान्तर रोकिएको छ । बजेट महाशाखाका प्रमुख रितेश शाक्यले जसका कारण फाइलको चाङ लागेको बताए । रकमान्तर फुकाइदिन विभिन्न मन्त्रालयका अधिकारीहरू धाइरहेका छन् ।

शाक्यले भने, ‘यस पटक बजेटमा असारमा रकमान्तर नगर्ने भन्ने शब्द राखिएको रहेछ । फुकाउनु कुनै निर्णय गर्नुपर्छ ।’ बजेट समयमै खर्च गर्न नसक्दा कारण आर्थिक वर्ष सकिन लाग्दा रकमान्तर बढी हुने गरेको छ । अर्थमन्त्रालयका एक अधिकारी पछिल्लो केही महिनादेखि नै कर्मचारीको तलबभत्ता बाँकी भएकाले रकमान्तर रोकिँदा तलब भत्ता समेत खान नपाउने अवस्था आउन सक्ने बताउँछन् । वर्षभर हुने रकमान्तरमध्ये असारमा हुने रकमान्तर अधिक छ । एउटा शीर्षकको बजेट अर्को शीर्षकमा सार्ने परिपाटी छ । तर, चालूको बजेट भने पुँजीगतमा रकमान्तर गर्न पाइँदैन ।

अर्थ विविधबाट थप निकासा दिनु पनि एक प्रकारको रकमान्तर हो । साना रकमान्तर चाहिँ आन्तरिक मिलान वा कार्यक्रम संशोधनमार्फत हुन्छ । ती काम सम्बन्धित मन्त्रालयले आफैं गर्छन् । चालू आर्थिक वर्षको वैशाख महिनामामात्रै ५ अर्ब २४ करोड ३ लाख ४२ हजार रूपैयाँ रकमान्तर भएको अर्थमन्त्रालयले जनाएको छ । यस्तै चैतमा २ अर्ब ७८ करोड ३१ लाख ४९ हजार रूपैयाँ रकमान्तर भएको छ । जेठ महिनाको विवरण भने आइसकेको छैन ।