स्रोतको अभावले नेपाललाई ऋण भुक्तानीमा पनि समस्या परेको छ : प्रधानमन्त्री

स्रोतको अभावले नेपाललाई ऋण भुक्तानीमा पनि समस्या परेको छ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपाललाई ऋणको भुक्तानी गर्नसमेत स्रोतको समस्या रहेको बताएका छन् ।

नेपाललाई आफ्नो विकास आवश्यकता पूरा गर्न ठूलो स्रोतको समस्या रहेको उनको भनाइ छ । ‘हामीलाई आन्तरिक स्रोत पर्याप्त छैन, त्यसो हुँदा हामीलाई बाहिरको सहुलियतपूर्ण स्रोतको ठूलो आवश्कता छ,’ काठमाडौँमा मंगलबार सुरु भएको विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडा) को परिपुरण बैठक (आइडा-२१)को बैठकलाई सम्बोधन गर्दै उनले भने ।

प्रधानमन्त्री प्रचण्डले विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउन आग्रह गरे ।

विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।

‘स्रोत, प्रविधि र लगानीको न्यायसंगत पहुँच प्रदान गरेर विकासको गतिमा चुनौतीहरू सामना गरिरहेका देशहरूलाई सहयोग गर्नुपर्छ, विद्यमान असमानताहरू सम्बोधन गर्नुपर्छ, अनिमात्र समावेशी आर्थिक अवस्थाको प्रवर्द्धन गर्न सकिन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘ती राष्ट्रहरूलाई माथि उठाउने मात्र नभई विश्वव्यापी स्थिरता र आर्थिक सहनशीलतामा योगदान पुर्याउनका लागि पनि ती देशहरूको दिगो विकासका पहलहरूलाई समर्थन गर्नुपर्छ, सहयोग गर्नुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले समावेशी आर्थिक विकासका लागि एकीकृत प्रयास गर्दागर्दै पनि राजस्वका सीमितता, व्यापार घाटा एवं बढ्दो ऋणको दायित्वहरूको सामना गर्नुपर्ने बाध्यता रहेको बताए ।

दिगो विकासका लक्ष्य (एसडिजी), राष्ट्रिय रूपमा निर्धारण गरिएका लक्ष्य (एनडिसी) र दिगो पूर्वाधार विकासमा वित्तीय स्रोत अपुग रहेको उनले उनले बताए । उनले अतिरिक्त रोजगारका अवसरहरू सिर्जना गर्न, आर्थिक गतिविधि तीव्ररूपमा अगाडि बढाएर अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुनका पनि सहुलियतपूर्ण सहायता आवश्यक रहेको उनले बताए ।

डिजिटलाइजेसन, उत्पादनमूलक क्षेत्रमा लगानी, उद्यमशीलताको प्रवर्द्धन, सीप विकासलाई जोड दिंदै रोजगारी सिर्जना गर्ने र समावेशिता प्रवर्द्धनलाई जोड दिंदै आएको उनले बताए ।

आइडा २१ बैठकले न्यून आय भएका मुलुकलाई आगामी तीन वर्षका लागि नीतिगत प्राथमिकताहरू र परिणामको खाकामा दाताहरू र ऋणीहरूबीच बलियो सहमति निर्माण गर्न सफल हुने प्रधानमन्त्रीले बताए । ‘नेपालसहित आइडिए प्राप्तकर्ता देशहरू यसको बृहत प्रभाव देख्न चाहन्छन् र हामी यी स्रोतहरूको महत्त्व पूर्ण क्षमतामा महसुस गर्न चाहन्छौं,’ उनले भने ।

नेपालजस्ता अल्पविकसित देशहरूको लागि सहुलियतपूर्ण वित्तीय सहायता महत्त्वपूर्ण भएको उनले बताए । विश्वव्यापी कार्बन उत्सर्जनमा नगन्य योगदान हुँदा पनि नेपाल जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूबाट असमानरूपमा प्रभावित भएको उनले बताए ।

विनाशकारी भूकम्प, विपद्, विश्वव्यापी महामारी र विश्वव्यापी आर्थिक चुनौतीहरूजस्ता कारण नेपालको आर्थिक विकास र समृद्धिमा चुनौती थपिएको उनले बताए ।

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्ग आईडाले वित्तीय श्रोत परिचालनका लागि दाता र लाभग्राही देशबीच मध्यस्थता गरिरहेको बताए । ‘यो बैठकले आईडाको श्रोत परिचालनका लागि मार्गदर्शन गर्नेछ । यो बैठकले अहिलेका लागि नभई अबको दशकका लागि कसरी योजनाबद्ध ढंगले अघि बढ्ने भन्ने तय गर्नेछु’, उनले भने ।

द्वारिका होटलका प्रबन्ध निर्देशक संगीता श्रेष्ठले कार्यक्रममा नेपालको भौगोलिक, साँस्कृतिक, पर्यावरणीय विशेषताका बारेमा जानकारी दिएकी थिइन् ।

मंगलवारदेखि शुरु बैठक शुक्रवारसम्म चल्नेछ । बैठकमा विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसननबर्गलगायत उच्च पदाधिकारीसहित ६१ देशका करिब २०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ ।