गुल्मी । गुल्मीदरबार गाउँपालिकाले सल्लाका रुख विस्थापित गर्ने योजना ल्याएको छ ।
बुधबार गाउँ सभामा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले डढेलो र आगलागीको मुख्य कारण सल्ला भएको भन्दै त्यसलाई विस्थापित गर्ने जनाएका हुन् ।
गाउँपालिकाले सल्लाका रुख काटेर त्यसको ठाउँमा हावापानी अनुसार अन्य प्रकारका रुख तथा बुट्याउन रोप्ने नीति ल्याएको छ ।
त्यस्तै नीति तथा कार्यक्रममा खानेपानीका स्रोतको संरक्षण गर्न ‘एक वडा पाँच पोखरी’ को नीति लिएर हरेक वडामा पानी पुनर्भरण पोखरी निर्माण गरिने उल्लेख छ ।
गाउँपालिकाले रैथाने बाली लगाउन कृषकलाई प्रोत्साहन गर्ने भएको छ ।
रैथाने लोपोन्मुख बाली जस्तै– कोदो, लट्टे, जुनेलो, धैया, तितेफापर, जौं, उवा जस्ता बालीको बिउँबिजन संकलन र व्यवस्थापन गरी लगाउन कृषकहरूलाई प्रोत्साहन गरिने जनाइएको छ ।
त्यस्तै ‘खेतदेखि पेटसम्म, गोठदेखि ओठसम्म’ कार्यक्रममार्फत सफा, स्वच्छ र मौलिक खानेकुरालाई प्रोत्साहन गरिएको छ ।
सबै घरपरिवारलाई स्वच्छ खानेपानीको व्यवस्था मिलाउन ‘एक घर एक धारा’को नीतिलाई निरन्तरता दिइएको छ ।
गुल्मीदरबारले फलफूल तथा तरकारी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरी नागरिकको जीवनस्तर परिवर्तन गर्ने नीति लिएको छ । त्यस्तै भ्रष्टाचारमा शून्य सहनशिलताको नीति अवलम्बन गर्दै नागरिकमैत्री सेवा प्रवाह गर्ने पालिकाको नीति रहेको छ ।
प्रतिक्रिया