श्री एयरलाइन्सको काठमाडौं–भरतपुर परीक्षण उडान सफल

श्री एयरलाइन्सको काठमाडौं–भरतपुर परीक्षण उडान सफल


काठमाडौं । श्री एयरलाइन्सको काठमाडौं–भरतपुर परीक्षण उडान आज बिहान सफल भएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङसहित प्राविधिकहरू लिएर काठमाण्डौंबाट भरतपुर आएको विमान छोटो रनवे भएको भरतपुर विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको श्री एयरलाइन्सका प्रवन्ध निर्देशक सुधिर मितलले जानकारी दिए ।

उनका अनुसार उडान परीक्षणका क्रममा कुनै समस्या भएन । विमानस्थलको पूर्वतर्फ बनेका घर र ती घरमाथि बनेका संरचनाले विमानस्थल जोखिमपूर्ण छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले अनुमति दिएपछि नियमित उडान भर्ने तयारीमा श्री एयरलाइन्स रहेको छ ।उडानको अनुमति प्रक्रिया पूरा गर्न भने केही समय लाग्ने श्रीका प्रवन्ध निर्देशक मितलले बताए ।

अहिले काठमाण्डौं भरतपुर र पोखरा भरतपुर बुद्ध एयरको ४२ सिटे जहाजले मात्रै उडान गर्दै आएको छ ।

केही वर्ष अगाडि यति एयरलाइन्सको विमान भरतपुर आउने गरे पनि अहिले भने उडान रोकिएका छन् ।

८० सिट क्षमता श्री एयरलान्इन्सको विमान भरतपुर आउन थालेपछि भाडा पनि घटाउने योजना रहेको प्रवन्ध निर्देशक मितलले बताए ।

अहिले बुद्धले भरतपुर–काठमाडौँको एकतर्फी भाडा चार हजार ८०० भन्दा बढी लिने गरेको छ ।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन बन्दैछ । विमानस्थल विस्तारको काम पनि अगाडि बढ्दैछ ।

गृहमन्त्री लामिछाने, पर्यटनमन्त्री तामाङ र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतले निर्माणाधीन टर्मिनल भवनको पनि निरीक्षण गरेका छन् ।

भरतपुर महानगर प्रमुख दाहालले ८० सिटे जहाजको सफल परीक्षणसँगै महानगरवासीको एउटा सपना साकार भएको बताइन् ।

पर्यटनमन्त्री तामाङले एक वर्षभित्रै रनवे विस्तारको काम सुरु हुने बताए । गृहमन्त्री लामिछानेले विमानस्थल विस्तारमा आफूले सक्दो सहयोग गर्ने बताए ।

भरतपुरमा ८० सिटे जहाज आउने भए पनि विमानस्थल विस्तार नभई रात्रिकालीन उडान भने गर्न सकिंदैन ।

विमानस्थलभन्दा पश्चिमतर्फ रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्रको जग्गामा विमानस्थल विस्तार गरेर रनवे १६ सय मिटर बनाउने लक्ष्य राखिएको छ ।