गिरीबन्धु टी–इस्टेटको जग्गामा छानबिन समिति बनाउन महामन्त्री शर्माको माग

गिरीबन्धु टी–इस्टेटको जग्गामा छानबिन समिति बनाउन महामन्त्री शर्माको माग


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टी–इस्टेटको जग्गामा छानबिन समिति बनाउन माग गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले उक्त माग हुन् ।

शर्माले गिरीबन्धुको जग्गा हिनामिनाको निर्णय हुँदा २०५२ सालमा एमालेको सरकार रहेको, २०६० सालको सरकार सूर्यबहादुर थापाको रहेको र २०७८ सालमा केपी शर्मा ओलीको नेतृत्वमा सरकार रहेको बताए । उनले भने, ‘यति प्रष्ट हुँदा पनि ओलीले कांग्रेसले जग्गा बेचेर खाएको आरोप लगाउनुभयो । यदि त्यस्तो हो भने छानबिन समिति बनाएर पुष्टि गरे हुन्छ ।’

‘केपी कमरेडले फेरि पनि भन्नुभयो कि, गिरीबन्धु प्रकरणमा कांग्रेसले ९१ बिघा जग्गा बेचेर कमिसन खायो । त्यो केपी कमरेडमा रहेको अधिकतम आवेगको कुरा हो,’ उनले भने ।

नभएको दोष कांग्रेसमाथि लगाउँदा आफूहरू चुप लागेर नसुन्ने शर्माले बताए । आवेगले उठाएको प्रश्नलाई विवेकले जवाफ दिन कांग्रेस पछि नपर्ने भन्दै शर्माले भने, ‘म आग्रह गर्न चाहन्छु, सरकारमा तपाईंहरू हुनुहुन्छ, खोल्नुस् गिरीबन्धुको फाइल र बनाउनुस् छानबिन समिति ।’