३ करोड रुपैयाँभन्दा कमका योजना प्रदेश र स्थानीय तहबाटै कार्यान्वयन गर्ने प्रधानमन्त्रीको दाबी

३ करोड रुपैयाँभन्दा कमका योजना प्रदेश र स्थानीय तहबाटै कार्यान्वयन गर्ने प्रधानमन्त्रीको दाबी


काठमाडौं । ३ करोड रुपैयाँभन्दा कमका योजना प्रदेश र स्थानीय तहबाटै कार्यान्वयन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

संघीय सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा एक लाख रुपैयाँका समेत धेरै आयोजना राखिएको भन्दै सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्रीले ३ करोड रुपैयाँसम्मका आयोजना प्रदेश र स्थानीय तहबाट कार्यान्वयन गर्ने बताएका हुन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा नेकपा एमालेका सांसद ठाकुर गैरेले तीन करोड भन्दा कमका आयोजना नल्याउने घोषणा किन कार्यान्वयन गरिएन भनेर सोधेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नामै लिएर उनले एक लाख, पाँच लाख, दश लाखका योजनाहरु हजारौंको संख्यामा राखेको बताएका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले ठूला आयोजना मात्रै संघबाट कार्यान्वयन हुने बताए ।

‘सरकारले बार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा व्यवहारिक र प्रतिफल प्राप्त होस् भन्ने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहमा आयोजनाहरुबीच दोहोरोपन हुन नदिने, ठूला आयोजना संघबाट कार्यान्वयन गर्ने, मझौला प्रकृतिका आयोजना प्रदेशबाट र साना आयोजना स्थानीय सरकारबाट कार्यान्वयन गर्ने विषयमा सरकार अहिले पनि स्पष्ट र दृढ रहेको जानकारी गराउन चाहन्छु’, उनले आफ्नो लिखित जवाफमा भने ।

कम रकम विनियोजन भएका आयोजना वित्तीय हस्तान्तरण अन्तर्गत सशर्त अनुदानको योजनाका रुपमा प्रदेश र स्थानीय तहमार्फत कार्यान्वयन गरिने प्रधानमन्त्री प्रचण्डले बताए ।

‘वित्तीय हस्तान्तरण अन्तर्गत सशर्त अनुदान तर्फका कतिपय आयोजना सम्पन्न गर्ने कार्यका लागि केही आयोजना तथा कार्यक्रमहरुमा कम रकम देखिए पनि रु. ३ करोड भन्दा कम रकम विनियोजन भएका आयोजनाहरुलाई प्रदेश तथा स्थानीय तहबाटै कार्यान्वयन गर्ने गरी अगाडि बढाइने ब्यहोरा समेत म जानकारी गराउन चाहन्छु’, उनले भने ।