जेठमै भित्रिए ३ हजार युनिट ईभी

जेठमै भित्रिए ३ हजार युनिट ईभी


काठमाडौं । सरकारले १५ जेठमा आर्थिक विधेयक मार्फत विद्युतीय गाडी (ईभी) मा भन्सार र अन्तःशुल्क समेत गरी १० प्रतिशत कर बढाए पनि जेठमा उल्लेख्य संख्याले ईभी आयात भएको छ ।

कर बढाउनु अगाडि वैशाखमा पनि बढेको ईभीको आयात जेठमा मात्रै करिब ३ हजार युनिट आयात भएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कुल ११ हजार ४ सय ६६ युनिट ईभी (कार, जिप, भ्यान) भित्रिएका छन् ।

वैशाखसम्म ८ हजार ४ सय ९७ युनिट ईभी आयात भएकोमा एक महिनामै २ हजार ९ ६९ युनिट विद्युतीय गाडी आयात भएको देखिन्छ ।

चालु आर्थिक वर्षमा भित्रिएका ईभीमध्ये जेठमा मात्रै २५ प्रतिशतभन्दा धेरै आएको देखिन्छ । वैशाखमा १ हजार ४०४ युनिट ईभी आयात भएको थियो । वैशाख र जेठमा मात्रै करिब साढे ४ हजार युनिट ईभी आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

सरकारले गत वर्ष १५ जेठ २०८० मा ल्याएको आर्थिक विधेयक मार्फत पनि इन्ट्री लेभलका गाडीको कर बढाएको थियो । उक्त आर्थिक विधेयक मार्फत ५० किलोवाटसम्मका सवारीमा १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरेको थियो ।

५० देखि १ सय किलोवाटसम्मका ईभीका हकमा १० प्रतिशतबाट बढाएर भन्सार महसुल १५ प्रतिशत पुर्‍याइएको थियो । सोही रेन्जको गाडीमा गत वर्षबाट १० प्रतिशत अन्तशुल्क पनि पुर्‍याएको थियो ।

१५ जेठ २०८१ मा आएको आर्थिक विधेयक मार्फत पनि ईभीमा कर बढेको छ । ५० किलोवाट र ५१ देखि १०० किलोवाट क्षमतामा भन्सार र अन्तःशुल्क ५/५ प्रतिशतले बढाएको छ ।

१०१ देखि २०० किलोवाटसम्म भन्सार १० प्रतिशत बढाएर अन्तःशुल्क यथावत राखेको छ । त्यसभन्दा माथि २०१ देखि ३०० किलोवाटसम्म अन्तःशुल्क घटाएर भन्सार बढाएको छ । ३०० किलोवाटभन्दा बढी क्षमतामा पनि अन्तःशुल्क घटाएर भन्सार बढाएको हो ।

कर बढ्नु अगाडि इन्ट्री लेभलका ईभीको आयात उच्च देखिएको छ । जेठसम्म भित्रिएका ईभीमध्ये ५० किलोवाटसम्म रेन्जका ४ हजार ३ सय ४४ र ५१ देखि १ सय किलोवाटसम्मको रेन्जका ६ हजार ८ सय ८५ युनिट ईभी भित्रिएका छन् ।

यस्तै १ सय १ देखि २ सय किलोवाटसम्मको रेन्जका ईभी २०९ युनिट भित्रिएको भन्सार विभागको तथ्यांक छ । २ सय १ देखि ३ सय किलोवाटसम्मको रेन्जका ईभी २७ वटा मात्रै आउँदा ३०० किलोवाटभन्दा माथिको एक युनिट आएको छ ।

भन्सार विागको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा ८० अर्बको गाडी आयात भएको छ । जसमध्ये २९ अर्ब रुपैयाँ बराबरको ईभी (कार, जिप, भ्यान) मात्रै भित्रिएका छन् । विद्युतीय गाडी आयातबाट सरकारले १३ अर्ब ६ करोड रुपैयाँ राजस्व प्राप्त गरेको भन्सार विभागले जनाएको छ ।

कुन महिनामा कति ?

साउन : ११०
भदौ : ७८८
असोज : १,२३७
कात्तिक : ६५२
मंसिर : ८९९
पुस : १,४२१
माघ : १,०५२
फागुन : २७६
चैत : ६५८
वैशाख : १,४०४
जेठ : २,९६९
कुन रेन्जका कति ?

१. ५० किलोवाटसम्म

संख्या : ४ हजार ३४४
मूल्य : ८ अर्ब १६ करोड २५ लाख
राजस्व : २ अर्ब ४३ करोड ८४ लाख
२. ५१–१०० किलोवाटसम्म

संख्या : ६ हजार ८८५
मूल्य : १९ अर्ब ६७ करोड ३ लाख
राजस्व : ९ अर्ब ६५ करोड ४१ लाख
३. १०१–२०० किलोवाटसम्म

संख्या : २०९
मूल्य : ९५ करोड ८९ लाख
राजस्व : ६७ करोड १३ लाख
४. २०१–३०० किलोवाटसम्म

संख्या : २७
मूल्य : १९ करोड ६० लाख
राजस्व : २७ करोड ३ लाख
५. ३०० किलोवाटमाथि

संख्या : १
मूल्य : १ करोड २८ लाख
राजस्व : २ करोड ६० लाख