बागमती : प्रतिपक्षी सांसदका योजनामा बजेट थप्ने सहमति

बागमती : प्रतिपक्षी सांसदका योजनामा बजेट थप्ने सहमति


हेटौंडा । बागमती प्रदेशका प्रतिपक्षी दलहरूका सांसदको योजनामा बजेट थप्ने सहमतिपछि प्रदेश सभाको अवरोध हट्ने भएको छ ।

हेटौंडास्थित मुख्यमन्त्री निवासमा भएको सत्तारुढ र प्रतिपक्षी दलबीचको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा प्रतिपक्षी सांसदका योजनामा बजेट थप गर्ने सहमति भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलले बजेट असन्तुलित भएको र सच्याउनुपर्ने मागसहित बजेटमाथिको छलफलका लागि बोलाइएको बिहीबारको प्रदेश सभा बैठक अवरुद्ध गरेका थिए ।

आज शुक्रबारको बैठक ११ बजे बोलाइए पनि सहमति हुन नसक्दा अपराह्न ३ बजेसम्म सञ्चालन हुन सकेको छैन ।

नेपाली कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले विकास बजेट थप गर्ने सरकारले प्रतिबद्धता जनाएको बताए ।

नेकपा एमालेका प्रमुख सचेतक मधुसुदन पौडेलले प्रतिपक्षका माग सम्बोधन हुनेगरी सहमति भएको बताए । उनले प्रदेश सभाको अवरोध हटाउने र १२ असारभित्रै बजेट पास गरिसक्ने दलहरूबीच सहमति जुटेको बताए ।

चालु आर्थिक वर्ष २०८०/८१ मा पनि योजना छुटेको भन्दै तत्कालीन विपक्षी दल नेकपा एमाले र राप्रपाले बजेटमाथिको छलफल बैठक अवरुद्ध गरेका थिए ।