माओवादी केन्द्रका नेता खामलाइ पुर्पक्षमा राख्ने अदालतको आदेश सदर

माओवादी केन्द्रका नेता खामलाइ पुर्पक्षमा राख्ने अदालतको आदेश सदर


हेटौँडा । माओवादी केन्द्रका केन्द्रीय सदस्य कालिबहादुर खामलाई उच्च अदालत पाटन हेटौँडा इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।
शुक्रबार न्यायाधीशद्वय शान्ता सेढाई सापकोटा र मेरिना श्रेष्ठको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत चितवनको आदेशलाई सदर गर्दै पुर्पक्षमा राख्न आदेश गरेको हो । जनमुक्ति सेनाका पूर्वकमाण्डर खाममाथि कोटेश्वर बस्ने रामहरि श्रेष्ठको हत्या गरेको आरोप लागेको छ । २०६५ वैशाख २८ मा त्रिशुली नदीमा श्रेष्ठको शव भेटिएको थियो ।

माओवादी लडाकुहरूले २०६५ वैशाख १५ मा श्रेष्ठलाई कोटेश्वरबाट शक्ति खोरमा लगेर थुनामा राखी यातना दिएको पीडित परिवारको आरोप छ । शव त्रिशुली नदीमा भेटिएपछि श्रेष्ठकी पत्नी रमिलाले आफ्ना पतिको अपहरणपछि हत्या गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।