नगरपालिकाले रेसुङ्गा नगरलाई हरित सहर घोषणा गर्ने

नगरपालिकाले रेसुङ्गा नगरलाई हरित सहर घोषणा गर्ने


काठमाडौं । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले ‘हरित सहर’ घोषणा गर्ने भएको छ ।

आर्थिक वर्ष ०८१/८२ सालको नीति तथा कार्यक्रममा नगरलाई हरित सहर घोषणा गरेर दीर्घकालीन लक्ष्य अनुरुप शिक्षा, स्वास्थ्य र पर्यटनको लागि हिल स्टेसनको रुपमा विकास गर्ने उल्लेख गरिएको छ ।

नगर प्रमुख खिलध्वज पन्थीले नगर क्षेत्रभित्र अनुत्पादक रुखहरू हटाई बरपिपल, स्वामीका रुखहरू र उत्पादनमुखी रुख, फलफूल तथा जडीबुटीहरू रोपण र संरक्षण गरिने नीति लिइएको बताए ।

‘उज्यालो सहर जनताको रहर’ भन्ने नारालाई साकार तुल्याउन नगरपालिकाभित्रका बजारक्षेत्रमा स्मार्ट लाइट जडान गरिने नीति नगरपालिकाको छ ।

नगरको सम्मुन्नतिका लागि विश्व बैंक, एसियाली विकास बैंकलगायतका अन्य दातृ तथा साझेदार निकायसँगको समन्वयमा विकास निर्माणको कार्य अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘स्वाच्छ नगर स्वस्थ नागरिक’ भन्ने मूल नाराका साथ नगरपालिकाका प्रत्येक घरमा सम्भव भएसम्म कम्तिमा दुईवटा फलफूल तथा सौन्दर्यीकरणका बिरुवा रोप्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गर्ने लक्ष्य नगरपालिकाको छ ।

‘नागरिकसँग मेयर कार्यक्रम’ मार्फत नगरपालिकाका सबै वडाहरूमा पुगी सेवा प्रवाह, सवकास निर्माणलगायतका विषयहरूमा नागरिकसँग समय-समयमा साक्षात्कार गरिने कार्यलाई निरन्तरता दिइने नीति नगर प्रमुख पन्थीले बताए ।

रेसुङ्गाको धार्मिक महत्वलाई प्रर्वद्धन गर्न भारतको अयोध्या र गोरखपुरसँग भगिनी सम्बन्ध कायम गर्न पहल गरिने समेत उनले बताए ।

कक्षा ८ भन्दा माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीलाई पढाइसँगसँगै सीपसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने नीति कार्यक्रम छ ।

‘आमासँग उपमेयर कार्यक्रम’ मार्फत गर्वभती महिला लक्षित विभिन्न सूचना र सन्देशमूलक कार्यक्रम सञ्चालन गरिने, गर्वभती महिलालाई सुत्केरी सेवा लिनका लागि एकोहोरो यातायात खर्च उपलब्ध गराउन नगरपालिकाले जनाएको छ ।

किसानसँग नगरपालिका कार्यक्रम सञ्चालन गरिने भएको छ । व्यवसायिक कृषि तथा पशुपालन गर्ने किसानहरुमध्येबाट उत्कृष्ट कृषकलाई पुरस्कृत गरिने छ । ‘मेयरसँग रोजगार’ कार्यक्रम सञ्चालन गरिने प्रमुख पन्थीले बताए

युवा स्वरोजगार कार्यक्रमलाई व्यवस्थित र थप प्रभावकारी बनाउदै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित गरिने भन्दै उनले नगरभित्र रहेका लोपोन्मुख भाषा, भेषभूषा, संस्कृति र परम्पराहरुको जगेर्ना र प्रवद्र्धन गर्नका लागि विशेष कार्यक्रमहरु सञ्चालन गरिने बताए ।

त्यस्तै रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि पर्यटनदूत नियुक्त गर्ने नीति कार्यक्रममा उल्लेख छ । एक वडा एक खेल मैदान वा कभर्डहल निर्माण कार्यलाई निरन्तरता दिइने भएको छ ।

पर्यटन प्रवद्र्धनका लागि रेसुङ्गा क्षेत्रमा स्काई साइकिलिङ्, जीपलाइन, घोडचडी जस्ता साहसिक खेलहरू सञ्चालनको पहिल गरिने नीती कार्यक्रममा उल्लेख छ ।