गुल्मीदरबार गाउँपालिकाले ल्यायो ४६ करोडको बजेट

गुल्मीदरबार गाउँपालिकाले ल्यायो ४६ करोडको बजेट


गुल्मी । गुल्मीदरबार गाउँपालिकाले ४५ करोड ९३ लाख ८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

सोमबार गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गरेकी हुन् ।

जसमध्ये चालुतर्फ ३४ करोड १५ लाख र पुँजीगततर्फ ११ करोड ७८ लाख बजेट विनियोजन गरिएको छ । यसमा आन्तरिक आम्दानी ६० लाख हुने अनुमान गरिएको छ ।

बजेटमा कृषि तथा पशुपालन, भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर तथा पूर्वाधार निर्माण, गुणस्तरीय स्वास्थ्य प्रवर्द्धन तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिइएको छ ।

त्यस्तै खानेपानी तथा सरसफाइ, विपद् व्यवस्थापन, क्रमागत आयोजनाहरूको निर्माण कार्यलाई निरन्तरता, रोजगारी सिर्जना, पर्यटन पूर्वाधार विकासलाई पनि विशेष ध्यान दिइएको छ ।

सामाजिक समावेशिता र रूपान्तरण, गुणस्तरीय, प्रभावकारी एवम् सर्वसुलभ सेवा प्रवाह बजेटका मुख्य प्राथमिकता रहेका छन् ।

बजेटमा सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षिका प्रसूति हुँदा सट्टा शिक्षकको व्यवस्था गर्ने, हाम्रा विद्यालय हरियाली, सफा र सुन्दर विद्यालय बनाउने कार्यक्रम राखिएको छ ।

बाँझो जग्गा उपयोग गर्न भूमि बैंक र महमा आत्मनिर्भरउन्मुख बनाउन मौरी प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने बजेटमा उल्लेख गरिएको छ ।

खानेपानी स्रोत संरक्षणका लागि एक वडा एक पोखरी निर्माण र डढेलो नियन्त्रणका लागि सल्लाका रुखहरूलाई वन कार्यालयसँग समन्वय गरेर विस्थापित गरी फलफूल तथा अन्य बिरुवा रोप्न आवश्यक बजेट विनियोजन भएको उल्लेख छ ।

हाम्रो विकास हाम्रै लागि, हाम्रो संरचना हाम्रो सम्पत्ति भन्ने अभियान सञ्चालन गरी सार्वजनिक संरचनाको संरक्षण गर्दै वडा कार्यालयको सहयोगी संस्थाको रुपमा गठन भएका टोल विकास संस्था लगायतका संघ संस्थाहरुलाई परिचालन गरिने कार्यक्रम पनि समेटिएको छ ।