कृषिका कर्मचारी आन्दोलित, अघि सारे ४ बुँदे माग

कृषिका कर्मचारी आन्दोलित, अघि सारे ४ बुँदे माग


काठमाडौं । संघ सरकारमा समायोजन भएर पुल दरबन्दीमा रहेका नेपाल कृषि सेवातर्फका कर्मचारी आन्दोलित भएका छन् । ६ वर्षदेखि वृत्ति विकास रोकिएको भन्दै उनीहरुले सिंहदरबमारमा कृषि मन्त्रालयभित्रै आन्दोलन थालेका हुन् ।

आइतबार विहान उनीहरुले कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको मूल ढोकामा नै धर्ना दिएका थिए । आन्दोलित कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साह र सचिव डा. राजेन्द्र कुमार मिश्रसमक्ष चार बुँदे माग पेस गरेका छन् ।

संघमा समायोजन भएका कृषि सेवा अन्तर्गत कृषितर्फका पुल दरबन्दीमा रहेको ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुने व्यवस्था गर्नुपर्ने उनीहरुको पहिलो माग छ । संघमा समायोजन भएका कृषि सेवा अन्तर्गत कृषितर्फका प्राविधिक कर्मचारीहरूको न्यायोचित वृत्ति विकास सुनिश्चित हुनुपर्ने अर्को माग छ ।

कृषि सेवाको कृषि तर्फका समूहको हकमा सर्वोच्च अदालतबाट रिक्त रहेको पदमा पदपूर्ति गर्न भएको परमादेश कार्यान्वयन गर्नपनि माग गरिएको छ ।

यस्तै संविधान र कार्यविस्तृतीकरण प्रतिवेदनअनुसार संघीय निकायको कार्यविवरणको आधारमा उपयुक्त संगठनात्मक संरचना निर्माण गर्न समेत उनीहरुले माग गरेका छन् ।