नेपाल प्रहरीमा एआईजी र २ डीआईजी पद खाली

नेपाल प्रहरीमा एआईजी र २ डीआईजी पद खाली


काठमाडौ । नेपाल प्रहरीमा शुक्रबारदेखि प्रहरी अतिरिक्त महानिरक्षिक र डीआईजीको एक र एक पद रिक्त हुँदै छ। एआईजी उमेशराज जोशी र एआईजीमा सिफारिस डीआईजी पोषराज पोखरेल अनिवार्य अवकास हुँदा दुई पद खाली हुन लागेका हुन्।उमेशराज जोशी बुधबारदेखि अनिवार्य अवकास भइसकेका छन्। पोखरेल एआईजीमा बढुवा भए पनि शुक्रबारदेखि नै अनिवार्य अवकास हुनेछन्। त्यसपछि हाल कार्यरत डीआईजीमध्येबाट एक एआईजीमा बढुवा गरिनेछ।
डीआईजीहरू रामदत्त जोशी, बुद्धिराज गुरुङ, दुर्गा सिंह, किरण राणा, कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भतरबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, अर्जुन चन्द ठकुरी र यज्ञ विनोद पोखरेल डीआईजीको वरीयतामा क्रमश छन्। यस्तै गत महिनामात्रै बढुवा भएका डीआईजीहरू कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा।मनोज कुमार केसी र राजन अधिकारी पनि डीआईजीमा कार्यरत छन्। तर उनीहरू एक महिना पहिले मात्रै बढुवा भएकाले एआईजी बन्ने सम्भावना छैन।

एआईजी बढुवापछि २ डीआईजी खालि
सरकारले सुरुमा रिक्त एआईजीमा यी डीआईजीहरूमध्येबाट बढुवा गरेपछि एसएसपीबाट डीआईजीमा बढुवा सिफारिस गर्नेछ। हाल कार्यरत एसएसपीमा ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द सबैभन्दा सिनियर हुन्। २०५१ चैत ५ गते भर्ना भएका ध्रुवराज राउत प्रहरी महानिरीक्षक कुँवरकै ब्याची हुन्। तर उनी एसपीबाटै पछि परे। २०६४ साउन १ गते डीएसपी भएका उनी अरूभन्दा एक वर्षपछि २०७३ पुस १३ मा मात्रै एसपीमा बढुवा भए। २०७८ मंसिर ६ गते एसएसपी भएका राउत पनि डीआईजी बढुवाका दाबेदार हुन्। ३० वर्षे सेवा अवधिका कारण उनी २०८१ चैत ५ गते अवकास हुनेछन्। भोलाबहादुर रावल पनि २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका हुन्। २०६३ भदौ ८ गते नै डीएसपी भए पनि उनी पछि परिरहेका छन्।

एसपी २०७२ फागुन १९ मा बढुवा भएका रावल २०७८ मंसिर ६ गते मात्रै एसएसपीमा बढुवा भएका थिए। रावल २०८१ माघ १२ गते अनिवार्य अवकास हुनेछन्। बढुवामा सुरुबाटै पछि पारिएका एसएसपी गणेश चन्द पनि डीआईजीका प्रतिस्पर्धी हुन्। उनका ब्याचीहरू सबै अहिले पनि डीआईजीदेखि आईजीपीसम्म छन्। तर, उनलाई भने एसएसपीमा बढुवा हुन पनि निकै कठिन भयो। चन्द २०६४ पुस ३० गते डीएसपीमा बढुवा भएका थिए। एसपी बढुवा हुँदा पनि उनी ब्याचीबाट छुटे। २०७४ साउन १९ गते एसपी बनेका चन्द एसएसपी भने २०७९ साउन ३ मा मात्रै बने। उनी आगामी मंसिर २५ गते अनिवार्य अवकासमा जानेछन्। तर डीआईजी बढुवाका लागि प्रतिस्पर्धामा डीआईजी दानबहादुर कार्कीकै ब्याचीहरू र राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली पनि प्रतिस्पर्धामा छ।

यसअघि अगाडी रहेको राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोलीलाई गृहमन्त्री रवि लामिछानेले पछि पारेका छन्। एसएसपीमा एक नम्बर सिद्धिविक्रम शाहसहितको समूह यसअघि डीआईजीमा छुटेको थियो। उनीहरू पनि सत्ता परिवर्तनको तयारीसँगै डीआईजीको प्रबल दाबेदार हुन्। अनुसन्धान विभागबाटै आएका सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदीलगायत छन्।यस्तै दानबहादुर कार्कीको ब्याचका जीवनकुमार श्रेष्ठ, ओमबहादुर राना, ईश्वर कार्कीलगायत पनि बढुवाका दाबेदार हुन्। यसबाहेक ठूलो संख्यामा भदौ १६ गते प्रहरी अधिकृतहरू अवकास हुँदै छन्।